२ कोरिन्थी 1:8-11
२ कोरिन्थी 1:8-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्ने हामी चाहँदैनौं। किनभने हामी सहन नसक्ने किसिमले यति साह्रो मिचिएका थियौं, कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौं। हामीलाई त मृत्युदण्ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो। उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ। तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नैपर्छ। तब धेरै प्रार्थनाको प्रत्युत्तरमा हामीलाई प्राप्त भएको आशिष्को निम्ति धेरैले हाम्रा पक्षमा धन्यवाद चढ़ाउनेछन्।
२ कोरिन्थी 1:8-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले एशियाको प्रान्तमा भोगेका कष्टहरूबारे तिमीहरू अनजान रहो भनी हामी चाहन्नौँ। हामीले सहन नसक्ने किसिमको कष्टको भार हामीमाथि परेको थियो, जसले गर्दा हामी बाँच्छौँ कि बाँच्दैनौँ भनी निश्चित थिएनौँ। निश्चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौँ। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्वरमाथि भरोसा राखौँ भनेर नै हो। उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, कि उहाँले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ। तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्वरलाई धन्यवाद दिनेछन्।
२ कोरिन्थी 1:8-11 पवित्र बाइबल (NERV)
दाज्यू-भाइ र दिदी-बहिनीहरू हो। एशिया प्रदेशमा हामीले भोगेका कष्टहरूको बारेमा पनि तिमीहरूले जानिराख भन्ने हामी चाहन्छौं। त्यहाँ हामी ठूलो कष्टमा थियौं। हाम्रा सहने शक्ति भन्दा कष्ट धेरै थियो। हामीले त बाँच्ने आशा पनि छोडिसकेका थियौं। हामीले साँच्चै सोच्यौं की हामी निश्चय मर्ने छौं, यो यस्तो भयो की हामीले आफूमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट ब्यूँताउँनु हुन्छ। परमेश्वरले हामीलाई मृत्युको आपदबाट बचाउनु भयो। अनि परमेश्वरले हामीलाई सदा सर्वदा रक्षा गर्नु हुन्छ। हामीले उहाँमा आशा गर्यैं ताकि उहाँले हामीलाई बचाई राख्नु हुनेछ। अनि तिमीहरूले आफ्ना प्रार्थनाद्वारा हामीलाई सहायता गर्न सक्नेछौ। घेरै मानिसहरूले हाम्रो निम्ति परमेश्वरलाई धन्यवाद दिनेछन् किनभने तिनीहरूको प्रशस्त प्रार्थनाले गर्दा परमेश्वरले हामीलाई आशीर्वाद दिनु भयो।
२ कोरिन्थी 1:8-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भाइ हो, एशियामा हामीले भोगेको दु:खको बारेमा म तिमीहरूलाई सम्झना गराउन चाहन्छु। त्यहाँ हामीले यति साह्रो दु:ख पायौं, हामी बाँचौंला भन्ने आशै थिएन। हामीलाई त अब ‘लौ, मर्ने बेला नै आइसकेछ’ भन्नेजस्तो लागेको थियो। आफैंमा भर पर्न होइन तर मरेकाहरूलाई नै बिउँताउनुहुने परमेश्वरमा मात्रै भर पर्न सकौं भनेर यस्तो भएको रहेछ। उहाँले हामीलाई मृत्युको मुखबाट बचाउनुभयो र बचाउनुहुन्छ पनि। हामीले उहाँमा पूरा आशा राखेका छौं कि उहाँले हामीलाई फेरि पनि बचाउनुहुनेछ। यसको लागि तिमीहरूको प्रार्थनाको सहायता हामीलाई चाहिन्छ। यसरी प्रार्थना गर्दा हाम्रा निम्ति चढाएका धेरै प्रार्थनाहरूको उत्तरमा परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ र धेरैले हाम्रो लागि धन्यवाद दिनेछन्।