१ शमूएल 13:5-15

१ शमूएल 13:5-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पलिश्‍तीहरू इस्राएललाई आक्रमण गर्न जम्‍मा भए। उनीहरूसित तीन हजार रथ र छ हजार रथ चालक तथा समुद्रको किनारका बालुवा जतिकै अनगन्‍ती पैदल-सिपाहीहरू थिए। उनीहरूले उक्‍लेर बेथ-आवनको पूर्वतिर मिकमाशमा छाउनी हाले। इस्राएलीहरू घोर सङ्कष्‍टमा परे, किनभने तिनीहरू साह्रै पेलिए। यसैले तिनीहरू ओड़ार र झाड़ीहरूमा, चट्टानका बीच-बीचमा, र खाड़लहरू र इनारहरूमा लुके। कोही हिब्रूहरू यर्दन नदी पार गरेर गाद र गिलादका जिल्‍लाहरूमा पनि भागे। तर शाऊलचाहिँ गिलगालमा नै बसिरहे र उनका पछि लागेका सबै मानिसहरू डरले काँप्‍न लागे। शमूएलले ठहराएअनुसार शाऊल सात दिनसम्‍म पर्खिरहे, तर शमूएल गिलगालमा आएनन्‌। मानिसहरू शाऊलदेखि हट्‌न लागे। यसकारण उनले भने, “होमबलि र मेलबलिहरू यहाँ मकहाँ ल्‍याऊ।” तब उनले नै होमबलि चढ़ाए। शाऊलले बलिदान चढ़ाइसकेका मात्र थिए, तब शमूएल आइपुगे। शाऊल तिनलाई भेट गर्नलाई गए। शमूएलले भने, “यो तपाईंले के गर्नुभयो?” शाऊलले जवाफ दिए, “मानिसहरू मबाट हटिरहेका मैले देखें, र तपाईंले प्रतिज्ञा गर्नुभएको समयमा तपाईं पनि आउनुभएन, र पलिश्‍तीहरू मिकमाशमा जम्‍मा हुँदैथिए, अनि मैले यही विचार गरें कि पलिश्‍तीहरू मेरो विरुद्धमा गिलगालमा आउनेछन्, र मैले परमप्रभुका निगाहको निम्‍ति बिन्‍ती गरेको छैनँ। यसैले म आफैले यो होमबलि चढ़ाउन बाध्‍य भएको अनुभव गरें।” शमूएलले शाऊललाई भने, “तपाईंले मूर्ख काम गर्नुभयो। परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएन। यदि तपाईंले पालन गर्नुभएको भए त उहाँले तपाईंको राज्‍य इस्राएलमाथि सधैँको निम्‍ति स्‍थिर गराउनुहुनेथियो। तर अब तपाईंको राज्‍य निरन्‍तर रहनेछैन। परमप्रभुले आफैले रुचाउनुभएको एक जना मानिस खोज्‍नुभएको छ, र तिनलाई नै आफ्‍ना प्रजाका अगुवा हुनलाई नियुक्त गर्नुभएको छ, किनभने तपाईंले परमप्रभुको आज्ञापालन गर्नुभएन।” तब शमूएल उठे, र गिलगाल छोड़ेर बेन्‍यामीनको गिबातिर गए। अनि शाऊलले आफूसित भएका मानिसहरूको गन्‍ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।

शेयर गर्नुहोस्
१ शमूएल 13 पढ्नुहोस्

१ शमूएल 13:5-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न तीन हजार रथहरू, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवासरी योद्वाहरू लिएर भेला भए। तिनीहरू माथि गएर बेथ-आवेनको पूर्वपट्टि मिकमाशमा छाउनी हाले। जब इस्राएलका मानिसहरूले आफ्नो अवस्था सङ्कष्‍टपूर्ण भएको, र तिनीहरूका सेनाहरू दबाबमा परेको देखे, तब तिनीहरू गुफा र पोथ्राहरूमा, चट्टानहरूमा, खाडल अनि इनारहरूमा लुके। कति हिब्रूहरू यर्दन नदी तरेर गाद र गिलादका इलाकाहरूतिर पनि गए। शाऊलचाहिँ गिलगालमा बसिरहे। अनि तिनीसँग भएका सम्पूर्ण दलहरू डरले काँपिरहेका थिए। शमूएलले निर्देशन दिएझैँ सात दिनसम्म शाऊलले पर्खे; तर शमूएल गिलगालमा आएनन्। अनि शाऊलका मानिसहरू तितरबितर हुन थाले। यसकारण शाऊलले भने, “मकहाँ होमबलि र मेलबलि ल्याओ।” अनि शाऊलले होमबलि चढाए। शाऊलले बलिदान चढाइसक्नेबित्तिकै शमूएल आइपुगे। अनि शाऊल तिनलाई अभिवादन गर्नलाई गए। तर शमूएलले सोधे, “तिमीले के गरेको?” शाऊलले जवाफ दिए, “मैले मानिसहरू तितरबितर भइरहेका देखेँ। अनि तपाईंले भन्‍नुभएको समयमा तपाईं पनि आउनुभएन। अनि पलिश्तीहरू पनि मिकमाशमा भेला भइरहेका थिए। त्यसैले मलाई लाग्यो, ‘अब पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा ओर्लेर आउनेछन्, र मैलेचाहिँ याहवेहसँग बिन्ती गरेको पनि छैनँ।’ यसकारण होमबलि चढाउन म बाध्य भएँ।” शमूएलले शाऊललाई भने, “तिमीले मूर्ख काम गर्‍यौ। तिमीले याहवेह तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको आज्ञापालन गरेनौ। यदि तिमीले उहाँको आज्ञापालन गरेको भए उहाँले इस्राएलमाथि तिम्रो राज्य सधैँको निम्ति स्थापित गर्नुहुनेथियो।” तर अब तिम्रो राज्य टिक्नेछैन। याहवेहले आफ्नो हृदयअनुसारको मानिस खोज्नुभएको छ। अनि तिनलाई उहाँका मानिसहरूको अगुवा नियुक्त गर्नुभएको छ; किनकि तिमीले याहवेहको आज्ञापालन गरेनौँ। तब शमूएल गिलगालबाट बेन्यामीनको गेबामा गए। अनि शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।

शेयर गर्नुहोस्
१ शमूएल 13 पढ्नुहोस्

१ शमूएल 13:5-15 पवित्र बाइबल (NERV)

पलिश्तीहरू इस्राएलसित लड्नलाई भेला हुनथाले। पलिश्तीहरूसँग 3,000 रथ र 6,000 घोडसवारी थिए। बालुवाका कण किनारमा थुप्रिए झैं पलिश्ती सैनिकहरू थुप्रिएका थिए। मिकमाशमा पलिश्तीहरूले छाउनी हालेका थिए। (मिकमाश बेत-आवेनको पूर्वतिर पर्छ।) इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिश्तीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू दुलोहरू तिर लुके। कोही हिब्रूहरू त यर्दन नदी पार गरेर गाद अथवा भागेर गिलाद तिर पुगे। शाऊल भने गिलगालमा नै थिए। तिनका सम्पूर्ण सैनिकहरू डरले कामिरहेका थिए। शमूएलले भने उनी शाऊलसित गिलगालमा भेट्ने छन्। शाऊलले सात दिनसम्म पर्खे। तर शमूएल गिलगाल जाँदै गएनन् यसर्थ शाऊललाई सैनिकहरूले छोड्न शुरू गरे। त्यति बेला शाऊलले भने, “मेरो निम्ति होमबलि र मेलबलि जुटाइदेऊ।” त्यसपछि शाऊलले होमबलि चढाए। तब शाऊलले बलि भेटी चढाऊन सके, शमूएल पनि त्यहाँ आइपुगे। शाऊल तिनीलाई भेट्न गए। शमूएलले सोधे, “तपाईंले यो के गर्नुभयो?” शाऊलले जवाफ दिए, “धमाधम सैनिकहरूले मलाई छोड्नलागे। तपाईं पनि यहाँ हुनुहुन्न थियो, अनि पलिश्तीहरू मिकमाशमा भरिएका थिए। मैले सोचें, ‘पलिश्तीहरू यहाँ गिलगालमा आएर मलाई आक्रमण गर्नेछन्। मैले अहिलेसम्म परमप्रभुलाई सहायताको निम्ति बिन्ती पनि गरिन। अन्त्यमा बाध्य भएर मैले होमबलि चढाएँ।’” शमूएलले भने, “तपाईंले मूर्खता पूर्ण काम गर्नुभयो। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको आदेशको पालन गर्नुभएन! यदि तपाईंले परमेश्वरको आदेशको उङ्घन नगरेको भए परमेश्वरले तपाईंको परिवारलाई सदाको निम्ति इस्राएलको शासन दिनुहुन्थ्यो। अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्टाउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।” त्यसपछि शमूएल उठे र गिलगाल छाडेर गए।

शेयर गर्नुहोस्
१ शमूएल 13 पढ्नुहोस्

१ शमूएल 13:5-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पलिश्‍तीहरू इस्राएलीहरूसित लडाइँ गर्न भेला भए। तिनीहरूसित तीस हजार लडाकु रथ, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवाका कणझैँ गन्‍न नसकिने पैदल सिपाहीहरू थिए। तिनीहरू बेथ-आवनको पूर्वपट्टि मिकमाशमा गए र त्‍यहाँ छाउनी हाले। त्‍यसपछि तिनीहरूले इस्राएलीहरूलाई घोर निराशालाग्‍दो अवस्‍थामा पारे। कति इस्राएलीहरू ओडार र झाडीहरूमा वा चट्टानका बीच वा खाडल र कुवाहरूमा लुके। अरू इस्राएलीहरू यर्दन नदी पार गरी गाद र गिलादका इलाकामा गए। शाऊल गिलगालमा थिए अनि तिनीसित भएका मानिसहरू डरले काँम्दै थिए। शमूएलले भनेअनुसार उनलाई सात दिनसम्‍म पर्खे; तर शमूएल गिलगालमा आइपुगेनन्। मानिसहरूले शाऊललाई छोड्‍न थाले। यसकारण तिनले मानिसहरूलाई भने, “होमबलि र मेलबलिहरू मकहाँ ल्‍याओ।” तिनले एउटा होमबलि गरे र त्‍यो सकिन लाग्‍दा शमूएल आइपुगे। शाऊल तिनलाई भेटेर स्‍वागत गर्न निस्‍किआए। तर शमूएलले भने, “यो तिमीले के गर्‍यौ?” शाऊलले उत्तर दिए, “मानिसहरू मलाई छोडेर भागिरहेका थिए। तपाईं आफूले भनेअनुसार आइपुग्‍नुभएन। त्‍यसबाहेक पलिश्‍तीहरू मिकमाशमा जम्‍मा हुँदै छन्। यसकारण मैले यस्‍तो विचार गरें, पलिश्‍तीहरूले मलाई यहाँ गिलगालमा हमला गर्नेछन् र मैले परमप्रभुको कृपादृष्‍टि पाउने चेष्‍टा गरेकै छैन। यसकारण मलाई लाग्‍यो कि मैले एउटा होमबलि चढाउनुपर्छ।” “तिमीले एउटा मूर्ख काम गर्‍यौ,” शमूएलले जवाफ दिए, “तिमीले परमप्रभु तिम्रा परमेश्‍वरले दिनुभएको आज्ञापालन गरेनौ। तिमीले आज्ञा मानेको भए उहाँले तिमी र तिम्रा सन्‍तानलाई सदासर्वदा इस्राएलमाथि राज गर्न दिनुहुनेथियो। तर अब तिम्रो शासन धेरै दिन चल्‍नेछैन। तिमीले उहाँको आज्ञा नमानेकाले परमप्रभुले आफूले चाहेको जस्‍तो मानिस खोज्‍नुहुनेछ र तिनलाई आफ्‍ना प्रजाका शासक बनाउनुहुनेछ।” शमूएल गिलगालबाट बिदा भएर आफ्‍नो बाटो लागे। शाऊल आफ्‍ना सिपाहीहरू भएकातिर गए र बाँकी रहेका मानिसहरू तिनीसित लागे। तिनीहरू गिलगालबाट बेन्‍यामीनको इलाकाको गिबामा गए। शाऊलले आफ्‍नो सेनाको टोलीको जाँच गरे, त्‍यहाँ प्राय: ६०० सैनिक थिए।

शेयर गर्नुहोस्
१ शमूएल 13 पढ्नुहोस्