पलिश्तीहरू इस्राएलीहरूसित लडाइँ गर्न भेला भए। तिनीहरूसित तीस हजार लडाकु रथ, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवाका कणझैँ गन्न नसकिने पैदल सिपाहीहरू थिए। तिनीहरू बेथ-आवनको पूर्वपट्टि मिकमाशमा गए र त्यहाँ छाउनी हाले। त्यसपछि तिनीहरूले इस्राएलीहरूलाई घोर निराशालाग्दो अवस्थामा पारे। कति इस्राएलीहरू ओडार र झाडीहरूमा वा चट्टानका बीच वा खाडल र कुवाहरूमा लुके। अरू इस्राएलीहरू यर्दन नदी पार गरी गाद र गिलादका इलाकामा गए। शाऊल गिलगालमा थिए अनि तिनीसित भएका मानिसहरू डरले काँम्दै थिए। शमूएलले भनेअनुसार उनलाई सात दिनसम्म पर्खे; तर शमूएल गिलगालमा आइपुगेनन्। मानिसहरूले शाऊललाई छोड्न थाले। यसकारण तिनले मानिसहरूलाई भने, “होमबलि र मेलबलिहरू मकहाँ ल्याओ।” तिनले एउटा होमबलि गरे र त्यो सकिन लाग्दा शमूएल आइपुगे। शाऊल तिनलाई भेटेर स्वागत गर्न निस्किआए। तर शमूएलले भने, “यो तिमीले के गर्यौ?” शाऊलले उत्तर दिए, “मानिसहरू मलाई छोडेर भागिरहेका थिए। तपाईं आफूले भनेअनुसार आइपुग्नुभएन। त्यसबाहेक पलिश्तीहरू मिकमाशमा जम्मा हुँदै छन्। यसकारण मैले यस्तो विचार गरें, पलिश्तीहरूले मलाई यहाँ गिलगालमा हमला गर्नेछन् र मैले परमप्रभुको कृपादृष्टि पाउने चेष्टा गरेकै छैन। यसकारण मलाई लाग्यो कि मैले एउटा होमबलि चढाउनुपर्छ।” “तिमीले एउटा मूर्ख काम गर्यौ,” शमूएलले जवाफ दिए, “तिमीले परमप्रभु तिम्रा परमेश्वरले दिनुभएको आज्ञापालन गरेनौ। तिमीले आज्ञा मानेको भए उहाँले तिमी र तिम्रा सन्तानलाई सदासर्वदा इस्राएलमाथि राज गर्न दिनुहुनेथियो। तर अब तिम्रो शासन धेरै दिन चल्नेछैन। तिमीले उहाँको आज्ञा नमानेकाले परमप्रभुले आफूले चाहेको जस्तो मानिस खोज्नुहुनेछ र तिनलाई आफ्ना प्रजाका शासक बनाउनुहुनेछ।” शमूएल गिलगालबाट बिदा भएर आफ्नो बाटो लागे। शाऊल आफ्ना सिपाहीहरू भएकातिर गए र बाँकी रहेका मानिसहरू तिनीसित लागे। तिनीहरू गिलगालबाट बेन्यामीनको इलाकाको गिबामा गए। शाऊलले आफ्नो सेनाको टोलीको जाँच गरे, त्यहाँ प्राय: ६०० सैनिक थिए।
१ शमूएल 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 13:5-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू