1 शमूएल 13:5-15

1 शमूएल 13:5-15 NCV

पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न तीन हजार रथहरू, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवासरी योद्वाहरू लिएर भेला भए। तिनीहरू माथि गएर बेथ-आवेनको पूर्वपट्टि मिकमाशमा छाउनी हाले। जब इस्राएलका मानिसहरूले आफ्नो अवस्था सङ्कष्‍टपूर्ण भएको, र तिनीहरूका सेनाहरू दबाबमा परेको देखे, तब तिनीहरू गुफा र पोथ्राहरूमा, चट्टानहरूमा, खाडल अनि इनारहरूमा लुके। कति हिब्रूहरू यर्दन नदी तरेर गाद र गिलादका इलाकाहरूतिर पनि गए। शाऊलचाहिँ गिलगालमा बसिरहे। अनि तिनीसँग भएका सम्पूर्ण दलहरू डरले काँपिरहेका थिए। शमूएलले निर्देशन दिएझैँ सात दिनसम्म शाऊलले पर्खे; तर शमूएल गिलगालमा आएनन्। अनि शाऊलका मानिसहरू तितरबितर हुन थाले। यसकारण शाऊलले भने, “मकहाँ होमबलि र मेलबलि ल्याओ।” अनि शाऊलले होमबलि चढाए। शाऊलले बलिदान चढाइसक्नेबित्तिकै शमूएल आइपुगे। अनि शाऊल तिनलाई अभिवादन गर्नलाई गए। तर शमूएलले सोधे, “तिमीले के गरेको?” शाऊलले जवाफ दिए, “मैले मानिसहरू तितरबितर भइरहेका देखेँ। अनि तपाईंले भन्‍नुभएको समयमा तपाईं पनि आउनुभएन। अनि पलिश्तीहरू पनि मिकमाशमा भेला भइरहेका थिए। त्यसैले मलाई लाग्यो, ‘अब पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा ओर्लेर आउनेछन्, र मैलेचाहिँ याहवेहसँग बिन्ती गरेको पनि छैनँ।’ यसकारण होमबलि चढाउन म बाध्य भएँ।” शमूएलले शाऊललाई भने, “तिमीले मूर्ख काम गर्‍यौ। तिमीले याहवेह तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको आज्ञापालन गरेनौ। यदि तिमीले उहाँको आज्ञापालन गरेको भए उहाँले इस्राएलमाथि तिम्रो राज्य सधैँको निम्ति स्थापित गर्नुहुनेथियो।” तर अब तिम्रो राज्य टिक्नेछैन। याहवेहले आफ्नो हृदयअनुसारको मानिस खोज्नुभएको छ। अनि तिनलाई उहाँका मानिसहरूको अगुवा नियुक्त गर्नुभएको छ; किनकि तिमीले याहवेहको आज्ञापालन गरेनौँ। तब शमूएल गिलगालबाट बेन्यामीनको गेबामा गए। अनि शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।

1 शमूएल 13 पढ्नुहोस्