१ इतिहास 28:19-21
१ इतिहास 28:19-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले भने, “यी सबै परमप्रभुकै हातले बनाएको नक्शा हो, र यसका सम्पूर्ण ससाना कामहरू उहाँले मलाई बुझाउनुभएको छ।” दाऊदले आफ्ना छोरा सोलोमनलाई यसो पनि भने, “बलिया र आँटिला होऊ र यो काम गर। नडराऊ र निरुत्साहित नहोऊ, किनकि परमप्रभु परमेश्वर, मेरा परमेश्वर तिम्रो साथमा हुनुहुनेछ। परमप्रभुको मन्दिरका सेवाको निम्ति सबै चाहिँदो काम तिमीले पूरा नगरुञ्जेल उहाँले न त तिमीलाई निराश तुल्याउनुहुनेछ न तिमीलाई त्याग्नुहुनेछ। परमप्रभुको मन्दिरका सबै सेवा गर्न पूजाहारी र लेवीका दल-दलहरू तयार छन्। तिम्रो सबै काममा खुशीसित कुनै पनि काम गर्न हरेक कारीगरको सहायता तिमीलाई मिल्नेछ। अनि अधिकारीहरू र सबै मानिसहरू तिम्रो हरेक हुकुममा चल्नेछन्।”
१ इतिहास 28:19-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दावीदले भने, “याहवेहको हात ममाथि भएको कारण यी सम्पूर्ण लिखित कुरा मसँग छन्। अनि उहाँले मलाई यस योजनाको सम्पूर्ण विवरण बुझ्नलाई समझ दिनुभयो छ।” दावीदले आफ्ना छोरा सोलोमनलाई पनि भने, “बलियो र साहसी भएर यो काम गर्! नडरा र निराश नहो, किनकि याहवेह परमेश्वर, मेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। याहवेहको मन्दिरको सेवाका निम्ति सबै कामहरू पूरा नभएसम्म उहाँले तँलाई छोड्नुहुनेछैन, अर्थात् त्याग्नुहुनेछैन। परमेश्वरको मन्दिरको सबै कामका निम्ति पुजारीहरू र लेवीहरूका दलहरू तयार छन्; अनि हरेक कलामा निपुण इच्छुक कारिगरहरूले तँलाई सबै कामहरूमा सहायता गर्नेछन्। अनि अधिकारीहरू र सबै मानिसहरूले तेरो प्रत्येक हुकुम पालन गर्नेछन्।”
१ इतिहास 28:19-21 पवित्र बाइबल (NERV)
दाऊदले भने, “यी सबै योजनाहरू परमप्रभुले मलाई अगुवाइ गर्नुभए अनुसार लेखिएका हुन्। परमप्रभुले मलाई योजनामा भएका हरेक चीज बुझ्नमा मद्दत गर्नुभयो।” दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी होऊ अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्। यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्न तयार छन। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईको हुकूम मान्नेछन्।”
१ इतिहास 28:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊद राजाले भने, “परमप्रभु आफैंले कसरी काम गर्नू भनी मलाई दिनुभएको ज्ञानअनुसार लेखिएका योजनाभित्र यी कुराहरू छन्।” दाऊद राजाले आफ्ना छोरा सोलोमनलाई भने, “भरोसा राख र सङ्कल्प गर। काम सुरु गर र केही कुराले त्यसलाई रोक्न नदेऊ। परमप्रभु परमेश्वर, जसको म सेवा गर्दछु, तिमीसित रहनुहुनेछ। उहाँले तिमीलाई त्याग्नुहुन्न र मन्दिर बनाउन गर्नुपर्ने काम तिमीले नसकेसम्म उहाँ तिमीसित रहनुहुनेछ। पूजाहारी र लेवीहरूको मन्दिरमा गर्नुपर्ने कामहरू तिनीहरूलाई खटाइएका छन्। सबै प्रकारका सीप भएका काम गर्ने मानिसहरू तिमीलाई सहायता गर्न उत्सुक छन् र तिनीहरूका अगुवाहरू तिम्रा आज्ञा मान्न तयार छन्।”