रोमी 9:1-18

रोमी 9:1-18 NCV

ख्रीष्‍टमा म सत्य बोल्दछु; पवित्र आत्माद्वारा मेरो विवेकले पनि यही साक्षी दिँदछ, कि मैले असत्य बोलेको छैनँ। म अत्यन्त दुःखित छु, र मेरो हृदय निरन्तर वेदनामा छ। किनकि म चाहन सक्थेँ, मेरा भाइहरू, जो शरीरमा मेरा जातिका हुन्। उनीहरूका खातिर म श्रापित भई ख्रीष्‍टदेखि अलग होऊँ। यी सबै इस्राएलका मानिसहरू हुन्। उनीहरूले नै धर्मपुत्र हुने हक, उनीहरूले नै ईश्‍वरीय महिमा, करारहरू, व्यवस्था, मन्दिरको आराधना र प्रतिज्ञाहरू प्राप्‍त गरेका हुन्। पुर्खाहरू उनीहरूकै हुन्, र उनीहरूबाट नै ख्रीष्‍टको मानवीय वंश पनि आएको हो। उहाँ, जो सबैमाथि परमेश्‍वर हुनुहुन्छ। उहाँलाई नै सदासर्वदा प्रशंसा होस्! आमेन। परमेश्‍वरको वचन विफल भएको होइन; किनभने इस्राएलमा जन्मेका सबै सदस्यहरू साँचो रूपमा इस्राएल होइनन्। न त उनीहरू अब्राहामका वंशका भएका कारण अब्राहामका सन्तान हुन्। यसको विपरीत धर्मशास्त्रले भन्छ, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।” यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्‍वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ। किनकि प्रतिज्ञा गर्दा यसरी भनिएको थियो: “ठिक समयमा म फर्किआउनेछु र साराको एउटा छोरा हुनेछ।” यति मात्र होइन, त्यही समयमा रिबेकाले हाम्रा पुर्खा इसहाकद्वारा सन्तान गर्भधारण गरेकी थिइन्। जुम्ल्याहा छोराहरू जन्मनुभन्दा अगि तथा उनीहरूले कुनै असल वा खराब काम गर्नुभन्दा अगि नै चुनावमा परमेश्‍वरको उद्देश्य पूरा होस् भन्‍ने अभिप्रायले, कामद्वारा होइन, तर बोलावट गर्नेको इच्छा पूरा होस् भनेर रिबेकालाई यो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ।” यस्तो लेखिएको छ: “याकोबलाई मैले प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ।” अब हामीले के भनौँ त? के परमेश्‍वर अन्यायी हुनुहुन्छ? कदापि होइन! किनकि उहाँले मोशालाई भन्‍नुहुन्छ; “जसलाई म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु, जसलाई म दया देखाउन चाहन्छु, त्यसलाई म दया देखाउनेछु।” यसकारण यो कुरा मान्छेको चाहना र प्रयासमा निर्भर छैन, तर परमेश्‍वरको कृपामा निर्भर छ। किनकि धर्मशास्त्रले फारोलाई भन्दछ: “मैले तँलाई यही उद्देश्यले खडा गरेँ, कि मेरो शक्ति तँमा देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस्।” यसकारण परमेश्‍वरले जसलाई कृपा देखाउन चाहनुहुन्छ, उसैलाई कृपा गर्नुहुन्छ; अनि जसलाई कठोर पार्न चाहनुहुन्छ, उसलाई कठोर पार्नुहुन्छ।

रोमी 9 पढ्नुहोस्