रोमी 1:1-15

रोमी 1:1-15 NCV

म पावल, ख्रीष्‍ट येशूको एक सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरका सुसमाचारको निम्ति अलग गरिएको हुँ, जुन सुसमाचार परमेश्‍वरले पहिले नै उहाँका अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार उहाँका पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दावीदको वंशबाट जन्मनुभएको थियो। उहाँ येशू ख्रीष्‍ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनरुत्थान भएर पवित्र आत्माको शक्तिद्वारा परमेश्‍वरका पुत्र नियुक्त हुनुभयो। उहाँको नामको खातिर विश्‍वासबाट आउने आज्ञाकारिताको निम्ति, सबै गैरयहूदीहरूलाई सुसमाचार सुनाउनका लागि हामीले उहाँद्वारा अनुग्रह र प्रेरितीय काम पाएका छौँ। अनि तिमीहरू पनि येशू ख्रीष्‍टका आफ्नै हुनलाई बोलाइएका मध्येका हौ। रोममा भएका सबैलाई, जो परमेश्‍वरका प्रिय र पवित्र जन हुनलाई बोलाइएका छन्: हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति! सर्वप्रथम, म मेरा परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु। किनकि तिमीहरूका विश्‍वासका कुराहरू सारा संसारमा प्रचार भइरहेको छ। परमेश्‍वर, जसको सेवा म उहाँका पुत्रको सुसमाचार प्रचारमा सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ कि कसरी म सधैँ मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु र मेरा हरेक प्रार्थनामा माग्दछु, कि अन्त्यमा परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आउनमा सफलता प्राप्‍त गर्न सकूँ। किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ अनि तिमीहरू र म एक-अर्काका विश्‍वासले प्रोत्साहित हुन सकौँ। दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरू अजान रहो भन्‍ने चाहन्‍नँ। गैरयहूदीहरूका बीचमा मैले आत्मिकी फल बटुलेझैँ तिमीहरूका बीचबाट पनि आत्मिकी फल पाउन सकूँ भनेर तिमीहरूकहाँ आउनलाई मैले धेरै पल्ट योजना बनाएँ, तर अहिलेसम्म यसो गर्नबाट रोकिएको छु। सभ्य होस् वा असभ्य होस्, शिक्षित तथा अशिक्षित, सबैको म ऋणी छु। त्यसैले रोममा बस्‍ने तिमीहरू सबैलाई सुसमाचार प्रचार गर्न म उत्सुक छु।