हितोपदेश 14:13-29

हितोपदेश 14:13-29 NCV

मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ; र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ। विश्‍वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ; र असल मानिसले आफ्नो कामको प्रतिफल पाउनेछ। सोझो मानिसले हरेक कुरामा विश्‍वास गर्छ; तर विवेकशील मानिसले आफ्ना पाइलाहरूबारे विचार गर्छ। बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्‍टतादेखि परै बस्छ; तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ। झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ; र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ। रिसाहाले मूर्खता कमाउँछन्, तर विवेकशीलहरूले ज्ञानको मुकुट लगाउँछन्। खराब मानिसहरू असल मानिसहरूका सामु, र दुष्‍टहरू धर्मीहरूका मूलढोकाको सामु झुक्नेछन्। गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्; तर धनीको धेरै मित्रहरू हुन्छन्। आफ्नो छिमेकीलाई तुच्छ ठान्‍नेले पाप गर्छ; तर त्यो मानिस धन्य हो, जसले अभावमा परेकाहरूमाथि दया देखाउँछ। के दुष्‍ट योजना रच्नेहरू बरालिँदैनन् र? तर असल योजना बनाउनेहरूले प्रेम र विश्‍वासयोग्यता प्राप्‍त गर्छन्। सबै कठोर परिश्रमले लाभ ल्याउँछ; तर कुरा मात्र गर्ने मानिसचाहिँ गरिबीमा पुग्छ। बुद्धिमान्‌को धन तिनीहरूको मुकुट हो; तर मूर्खहरूको मूर्खपनाले मूर्खता मात्र उत्पन्‍न गराउँछ। साँचो साक्षीले जीवन बचाउँछ; तर झूटो साक्षी छलपूर्ण हुन्छ। याहवेहको डर मान्‍नेको किल्‍ला सुरक्षित रहन्छ; र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ। याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ। ठूलो जनसंख्या राजाको महिमा हो; तर प्रजाविनाको शासक नष्‍ट हुन्छ। धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ।

हितोपदेश 14 पढ्नुहोस्