हितोपदेश 14:13-29

हितोपदेश 14:13-29 NNRV

मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्‍छ, र हर्षको अन्‍तचाहिँ शोकमा हुन सक्‍छ। बेईमानहरूले आफ्‍नो चालको फल पूरै भोग्‍नुपर्छ, र भला मानिसलाई आफ्‍नो कामको प्रतिफल दिइनेछ। बेवकूफ मानिसले जुनसुकै कुरा पत्‍याउँछ, तर समझदार मानिसले आफ्‍ना पाइलाहरू सतर्कसाथ चाल्‍छ। बुद्धिमान्‌ मानिसले परमप्रभुको भय राख्‍छ र खराबीदेखि टाढ़ै रहन्‍छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्‍छ। रिसाहा मानिसले मूर्ख कामहरू गर्छ, र धूर्त मानिस घृणित हुन्‍छ। अज्ञानीले मूर्खता कमाउँछ, तर समझदारहरूले ज्ञानको मुकुट लगाउँछन्‌। खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍टहरू धर्मीहरूको ढोका अघि झुक्‍नुपर्छ। आफ्‍नै छिमेकीहरूबाट समेत गरीबहरू त्‍यागिन्‍छन्, तर धनीका त धेरै मित्रहरू हुन्‍छन्‌। आफ्‍नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्‍यो मानिस धन्‍य हो, जसले दरिद्रलाई दया गर्छ। के खराब योजना रच्‍नेहरू बरालिँदैनन्‌ र? तर असल योजना बनाउनेहरूले प्रेम र ईमानदारी प्राप्‍त गर्छन्‌। सबै कठोर परिश्रमले लाभ हुन्‍छ, तर कुरै मात्र गर्नेचाहिँ दरिद्रतामा पुग्‍छ। बुद्धिमान्‌को सम्‍पत्ति तिनीहरूको मुकुट हो, तर मूर्खहरूको मूर्खताले मूर्खता नै उत्‍पन्‍न गराउँछ। साँचो साक्षीले जीवन बचाउँछ, तर झूटो साक्षी छली हुन्‍छ। जसले परमप्रभुको भय मान्‍छ, त्‍यसको सुरक्षित किल्‍ला हुन्‍छ, र त्‍यसका छोराछोरीका निम्‍ति यो एक शरणस्‍थान हुनेछ। परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्‍युको पासोहरूबाट उम्‍कन्‍छ। प्रजाको ठूलो सङ्‌ख्‍याले राजा गौरवान्‍वित हुन्‍छ, तर प्रजाविनाको शासक नष्‍ट हुन्‍छ। धैर्यवान्‌ मानिसको समझशक्ति अपार हुन्‍छ, तर गरम मिजासको मानिसले आफ्‍नो मूर्खता प्रदर्शन गर्छ।