हितोपदेश 10:11-21

हितोपदेश 10:11-21 NCV

धर्मीको मुख जीवनको फोहोरा हो, तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्छ। घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ। समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ। बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; तर मूर्खको मुखले विनाश निम्त्याउँछ। धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो, तर दरिद्रता गरिबहरूको विनाश हो। धर्मीको ज्याला तिनीहरूको जीवन हो, तर दुष्‍टको कमाइ पाप र मृत्यु हो। अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्‍ट पार्छ। जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो। जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्‌ले आफ्नो जिब्रोमा लगाम लगाउँछ। धर्मीको जिब्रो निखुर चाँदी हो; तर दुष्‍टको हृदय भने केही मूल्यको हुँदैन। धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, तर मूर्खहरू विवेकको अभावले मर्छन्।

हितोपदेश 10 पढ्नुहोस्