फिलिप्पी 4:10-20

फिलिप्पी 4:10-20 NCV

प्रभुमा म अत्यन्तै आनन्दित छु; किनकि अन्त्यमा तिमीहरूको वास्ता मप्रति फेरि पलाएको छ, वास्तवमा तिमीहरूले मेरो वास्ता गर्दथ्यौ, तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ। म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहन मैले सिकेको छु। म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो पनि म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहने रहस्य मैले सिकेको छु। उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ। मेरो कष्‍टमा सहभागी हुनु तिमीहरूको लागि असल हो। यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ, कि तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन। किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ। मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु। मैले पूरा मोल प्राप्‍त गरेको छु, र यो मेरो लागि पर्याप्‍त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ; किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्‍त गरेको छु। त्यो मिठो बास्‍नादार भेटी, परमेश्‍वरलाई ग्रहणयोग्य र प्रसन्‍न तुल्याउने बलिदान भएको छ। र मेरा परमेश्‍वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ। हाम्रा परमेश्‍वर पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन।

फिलिप्पी 4 पढ्नुहोस्