यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्। यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्: आठौँ दिनमा मेरो खतना भएको हो; इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी; जोशको विषयमा हो भने मण्डलीलाई सताउने हुँ; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित। तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्टको निम्ति म व्यर्थको ठान्दछु। हो, मेरा प्रभु ख्रीष्ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्टलाई प्राप्त गर्न सकूँ। उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्टमाथिको विश्वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्वासको आधारमा परमेश्वरबाट आउँछ। म ख्रीष्टलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छु—उहाँको कष्ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु; अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु। मैले यी सबै कुरा प्राप्त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु। दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु; म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्वरले ख्रीष्ट येशूमा मलाई बोलाउनुभएको छ। यसकारण हामी सबै जति जना परिपक्व छौँ, यस्तै कुराहरूको विचार गरौँ; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्वरले तिमीहरूलाई स्पष्ट पारिदिनुहुनेछ। हामीले जे जति प्राप्त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ। दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक। किनकि मैले तिमीहरूलाई धेरै पल्ट भनेको छु; अनि अहिले फेरि पनि आँसुको साथ भन्दछु, धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रुहरूजस्तै गरी जीवन जिउँछन्। तिनीहरूको अन्त्य विनाश हो; तिनीहरूका पेट नै तिनीहरूका ईश्वर हो, र तिनीहरूको गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूको मन सांसारिक कुराहरूमा लागेको छ। तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ। उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।
फिलिप्पी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलिप्पी 3:4-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू