फिलिप्पी 1:12-30

फिलिप्पी 1:12-30 NCV

दाजुभाइ-दिदीबहिनीहरू हो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु। परिणाम स्वरूप सारा दरबारका पहरेदारहरू र बाँकी सबै मानिसहरूकहाँ म ख्रीष्‍टको निम्ति कैदमा रहेको हुँ भनी छर्लङ्ग भएको छ। अनि मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्‍वासीहरू साहसी भएका छन्, र निडरतासाथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्। यो सत्य हो, कतिले डाह र प्रतिस्पर्धाका कारण ख्रीष्‍टलाई प्रचार गर्दछन्, तर अरूहरूले चाहिँ स्वच्छ मनसायले गर्दछन्। म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्। डाह र प्रतिस्पर्धाले प्रचार गर्नेहरूले स्वार्थी उद्देश्यले बेइमानीका साथ ख्रीष्‍टको प्रचार गरे; ताकि म कैदमा रहेको बेला तिनीहरूले मलाई अझ धेरै समस्या खडा गर्न सकून्। तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्‍ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु। हो, म निरन्तर आनन्दित हुनेछु। किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु। म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्‍ट उच्‍च पारिनुहुनेछ। किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो र मर्नुचाहिँ लाभ हो। यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ! म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ। तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। म निश्‍चित भएको छु; यसकारण तिमीहरू सबैको उन्‍नति र विश्‍वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु; यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्। जेसुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रीष्‍टको सुसमाचारको योग्य होस्। तब चाहे म आएर तिमीहरूलाई देखूँ, अथवा अनुपस्थित रहेर तिमीहरूका बारेमा सुनूँ, म यही कुरा थाहा पाउन चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ, र सुसमाचारको विश्‍वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ। तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्‍वरबाटको चिन्ह हो। किनकि ख्रीष्‍टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि उहाँमाथि विश्‍वास गर्ने मात्र होइन, तर उहाँको निम्ति कष्‍ट पनि भोग्नुपर्छ। किनकि तिमीहरू पनि त्यही सङ्घर्षमा छौ, जुन सङ्घर्ष तिमीहरूले ममा देख्यौ र त्यो अझै पनि ममा छँदैछ भनी अहिले सुनेका छौ।

फिलिप्पी 1 पढ्नुहोस्