मीका 4:1-5
मीका 4:1-5 NCV
अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ; र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै मानिसहरू त्यसमा ओइरिएर आउनेछन्। धेरै राष्ट्रहरू आएर भन्नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट, र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्। उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ, र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्। हरेक मान्छे आफ्नै दाखको बोटमुनि र आफ्नै नेभाराको रूखमुनि बस्नेछ; अनि कसैले पनि तिनीहरूलाई भयभीत तुल्याउनेछैन; किनकि सेनाहरूका याहवेहले बोल्नुभएको छ। सबै राष्ट्रहरू तिनीहरूका आफ्नै देवताहरूका नाममा हिँडून्; तर हामीचाहिँ याहवेह हाम्रा परमेश्वरको नाममा सदासर्वदै हिँड्नेछौँ।

