मीका 4:1-5 - Compare All Versions

मीका 4:1-5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

पछिल्‍ला दिनहरूमा परमप्रभुका मन्‍दिरको पहाड़चाहिँ पहाड़हरूमा प्रमुखझैँ स्‍थापित हुनेछ, र त्‍यो सबै डाँड़ाहरूभन्‍दा माथि उठाइनेछ, र मानिसहरू त्‍यहाँ ओइरिएर जानेछन्‌। धेरै जाति-जातिहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्‌न सकौं।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्‌। उहाँले धेरै मानिसहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र टाढ़ा-टाढ़ासम्‍मका बलिया जातिहरूका निम्‍ति झगड़ाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले फेरि कहिल्‍यै लड़ाइँ गर्न तालीम लिनेछन्‌। हरेक मानिस आफ्‍नो दाखको बोट र आफ्‍नो नेभाराको बोटमुनि बस्‍नेछ, र कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनकि सर्वशक्तिमान्‌ परमप्रभुले नै बोल्‍नुभएको छ। सबै जातिहरू आ-आफ्‍ना देवताका नाउँमा हिँडून्, तर हामीचाहिँ सदासर्वदै परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा हिँड्‌नेछौं।

शेयर गर्नुहोस्
मीका 4 NNRV

मीका 4:1-5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

आउँदा दिनहरूमा मन्‍दिर बनिएको डाँडा सबैभन्दा अग्‍लो र उच्‍च हुनेछ। धेरै जातिहरू ओइरिएर त्‍यहाँ आउनेछन्, अनि ती मानिसहरूले भन्‍नेछन्, “हामी परमप्रभुको पर्वत उक्‍लेर इस्राएलका परमेश्‍वरको मन्‍दिरमा जाऔँ किनकि उहाँले हामीलाई हामीले गर्नुपर्ने काम सिकाइदिनुहुनेछ। उहाँले खटाउनुभएको बाटोमा हामी हिंड्‍नेछौं किनभने परमप्रभुका शिक्षा यरूशलेमबाट आउँछ र सियोनबाट वचन फैलिनेछ र उहाँ आफ्‍ना प्रजासँग बोल्‍नुहुन्‍छ।” उहाँले जाति-जातिहरूका बीच र टाढा-नजिकका बलिया जातिहरूका बीच मुद्दा-मामिलाहरू छिनाफाना गर्नुहुनेछ। तिनीहरूले आ-आफ्‍ना तरवारहरू पिटेर हलोको फालीहरू र भालाहरू पिटेर हसिंयाहरू बनाउनेछन्। जाति-जातिहरूका बीच फेरि लडाइँ हुनेछैन, तिनीहरूले फेरि कहिल्‍यै युद्धको तयारी गर्नेछैन। हरेक मानिस आफ्‍नो दाखको बोट र आफ्‍नो नेभाराको बोटमुनि शान्‍तिसँग बस्‍नेछ र कसैले तिनीहरूलाई डर देखाउनेछैन किनकि सर्वशक्तिमान् परमप्रभुले नै यस्‍तो प्रतिज्ञा गर्नुभएको छ। हरेक जातिले आफ्‍नै देवताको पूजा गर्ला र आज्ञा मान्‍ला तर हामीचाहिँ आफ्‍ना परमप्रभु परमेश्‍वरलाई सधैँभरि पुज्‍नेछौं अनि उहाँको आज्ञापालन गर्नेछौं।

शेयर गर्नुहोस्
मीका 4 सरल नेपाली

मीका 4:1-5 NERV (पवित्र बाइबल)

अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाहिँ पहाडहरूमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरू भन्दा उच्च पारिने छ अनि अरू जातिहरू त्यसमा ओईरिएर आउनेछन्। धेरै मानिसहरू त्यहाँआएर भन्नेछन्, “आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। हामीहरू उहाँको मार्गमा हिंड्नेछौं।” किनभने व्यवस्था सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्। उहाँले देशमा बिभिन्न मानिसहरूका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरूको झगडा़को फैसला गर्नु हुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोको फाली र भालाहरू चाहिँ हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको बिरूद्धमा, तरवार चलाउने छैनन्, न त तिनीहरूले कहिल्यै लडाईं गर्न सिक्नेछन्। तर प्रत्येक मानिसहरू तिनीहरूको आ-आफ्नो दाखको बोट र नेभाराको बोट मुनि बस्नेछन्। कसैले तिनीहरूलाई डर देखाउने छैन। किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरू भन्नु भएकोछ। सबै जातिका मानिसहरू चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं।

शेयर गर्नुहोस्
मीका 4 NERV

मीका 4:1-5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ; र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै मानिसहरू त्यसमा ओइरिएर आउनेछन्। धेरै राष्ट्रहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट, र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्। उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ, र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्। हरेक मान्छे आफ्नै दाखको बोटमुनि र आफ्नै नेभाराको रूखमुनि बस्‍नेछ; अनि कसैले पनि तिनीहरूलाई भयभीत तुल्याउनेछैन; किनकि सेनाहरूका याहवेहले बोल्नुभएको छ। सबै राष्ट्रहरू तिनीहरूका आफ्नै देवताहरूका नाममा हिँडून्; तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा सदासर्वदै हिँड्नेछौँ।

शेयर गर्नुहोस्
मीका 4 NCV