मत्ती 8:1-12

मत्ती 8:1-12 NCV

जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। कुष्‍ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” अनि तुरुन्तै त्यो आफ्नो कुष्‍ठरोगबाट निको भइहाल्यो। तब येशूले त्यसलाई भन्‍नुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।” जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे। तिनले भने, “हे प्रभु, मेरो सेवक घरमा पक्षघातको रोगले धेरै कष्‍ट पाइरहेको छ।” येशूले तिनलाई भन्‍नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।” तब सेनापतिले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानामुनि आउनुहुने योग्यको म छैनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ। किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, र त्यो जान्छ; अनि अर्कोलाई ‘आइज’ भन्छु, र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु, र त्यसले त्यो गर्छ।” यो सुनेर येशू आश्‍चर्यचकित हुनुभयो, र आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, मैले इस्राएलीहरू कसैमा पनि यति ठूलो विश्‍वास पाएको छैनँ। म तिमीहरूलाई भन्दछु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्। अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्‍नेछन्। तर परमेश्‍वरको राज्यमा हुनुपर्ने सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”

मत्ती 8 पढ्नुहोस्