मत्ती 8:1-12

मत्ती 8:1-12 NNRV

उहाँ डाँड़ाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्‍यो। एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ।” उहाँले आफ्‍नो हात पसारेर त्‍यसलाई छुनुभयो, र भन्‍नुभयो, “म इच्‍छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग निको भइगयो। तब येशूले त्‍यसलाई भन्‍नुभयो, “कसैलाई नभन्‍नू। तर जाऊ, र आफूलाई पूजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ, र मानिसहरूलाई प्रमाण होस्‌।” येशू कफर्नहुममा पस्‍नुहुँदा एक जना कप्‍तान उहाँकहाँ आएर बिन्‍ती गर्न लागे। तिनले भने, “हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।” उहाँले तिनलाई भन्‍नुभयो, “म आएर त्‍यसलाई निको पार्नेछु।” तर कप्‍तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्‍वागत गर्ने योग्‍यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ। किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एक जनालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्‍छु, अनि त्‍यसले त्‍यो गर्छ।” तिनको कुरा सुनेर येशूले आश्‍चर्य मान्‍नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, इस्राएलमा पनि यति ठूलो विश्‍वास मैले भेट्टाएको छैनँ। म तिमीहरूलाई भन्‍दछु, पूर्व र पश्‍चिमबाट धेरै जना आउनेछन्, र अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गका राज्‍यको भोजमा बस्‍नेछन्‌। तर राज्‍यका सन्‍तान बाहिरी अन्‍धकारमा फालिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”