मत्ती 6:26-34

मत्ती 6:26-34 NCV

आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र? के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छौ र? “अनि लुगाहरूका विषयमा किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्। तिनीहरूले परिश्रम गर्दैनन्, र धागो पनि कात्दैनन्, तर पनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। यसकारण आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्‍वासीहरू हो, के उहाँले तिमीहरूलाई अझ बढी पहिराउनुहुनेछैन र? यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर। किनकि गैरयहूदीहरू यी कुराहरूका पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ। तर पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्‍ट आजको निम्ति पर्याप्‍त छ।”

मत्ती 6 पढ्नुहोस्

मत्ती 6:26-34 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति