मत्ती 26:36-75

मत्ती 26:36-75 NCV

तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!” उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!” अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।” उहाँ दोस्रो पल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।” जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई छोडेर एक पल्ट फेरि गएर उही शब्दहरू दोहोर्‍याउँदै प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!” उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो। त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।” यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो। येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।” तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए। यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो। येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्‍ट हुनेछ। तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्‍न र? तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्‍ने कुरा कसरी पूरा हुने त?” त्यस बेला येशूले त्यस भीडलाई भन्‍नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु र? अनि तपाईंहरू मलाई पक्रन तरवार र लाठाहरू लिएर आउनुभयो? म त दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थेँ, र तपाईंहरूले मलाई पक्रनुभएन। तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए। तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे। मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए। तर धेरै झूटा साक्षीहरू अगि सरेर आए, तापनि तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जनाले अगि सरेर घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ” तब प्रधान पुजारी उठेर येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?” तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, “म जीवित परमेश्‍वरको नाममा भन्दछु: तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्‍नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसिरहेको, र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।” तब प्रधान पुजारीले आफ्नो वस्त्रहरू च्यातेर भने, “यसले ईश्‍वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्‍वरनिन्दा सुनिहाल्नुभयो। तपाईंहरू के विचार गर्नुहुन्छ?” तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।” तब तिनीहरूले उहाँको अनुहारमा थुके, मुक्‍का लगाए। अरूले थप्पड लगाएर भने, “हे ख्रीष्‍ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?” अब पत्रुस बाहिर चोकमा बसिरहेका थिए। अनि एउटी सेविका तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।” तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।” तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविकाले देखी र त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।” तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।” केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीचालीले त्यही भन्छ।” तब तिनले आफूलाई धिक्‍कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दै चिन्दिनँ।” तब तत्कालै भाले बास्यो। अनि पत्रुसले तिनलाई येशूले यसो भन्‍नुभएको यो वचन सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।