मत्ती 26:36-44

मत्ती 26:36-44 NCV

तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!” उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!” अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।” उहाँ दोस्रो पल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।” जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई छोडेर एक पल्ट फेरि गएर उही शब्दहरू दोहोर्‍याउँदै प्रार्थना गर्नुभयो।