मत्ती 22:15-22

मत्ती 22:15-22 NCV

त्यसपछि फरिसीहरू बाहिर गइहाले र येशूलाई उहाँकै कुरामा कसरी फसाऔँ भनेर योजना बनाए। तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ, र तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न; किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न। तब हामीलाई तपाईंको विचार भन्‍नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?” येशूले तिनीहरूका दुष्‍ट अभिप्राय जानेर भन्‍नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ? कर तिर्दा प्रयोग गरिने सिक्‍का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।” जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे, र उहाँलाई छोडेर गइहाले।