मत्ती 22:15-22 - Compare All Versions
मत्ती 22:15-22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे। तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्यू, हामी जान्दछौं, तपाईं सत्य हुनुहुन्छ, र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ, र तपाईं कसैको भय मान्नुहुन्न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्न। यसकारण हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन?” तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्दछौ? कर तिर्ने सिक्का मलाई देखाओ।” अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ।” यो सुनेर तिनीहरू चकित भए, र उहाँलाई छोड़ेर गइहाले।
मत्ती 22:15-22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि फरिसीहरू बाहिर गइहाले र येशूलाई उहाँकै कुरामा कसरी फसाऔँ भनेर योजना बनाए। तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ, र तपाईंले साँचो गरी परमेश्वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्न; किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्न। तब हामीलाई तपाईंको विचार भन्नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?” येशूले तिनीहरूका दुष्ट अभिप्राय जानेर भन्नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ? कर तिर्दा प्रयोग गरिने सिक्का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।” जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे, र उहाँलाई छोडेर गइहाले।
मत्ती 22:15-22 NERV (पवित्र बाइबल)
तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए। फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्। सिजरलाई महसूल तिर्नु उचित हो कि होइन?” तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ? महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए। येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।” ती मानिसहरूले जवाफ दिए, “यो सिजरको चित्र हो र यसमा सिजरको नाम अंकित छ।” येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।” ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।
मत्ती 22:15-22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
फरिसीहरूले गएर येशूलाई कुरैकुरामा फसाउन जाल रचे। तिनीहरूले आफ्ना केही चेलाहरूलाई हेरोद राजाका मानिसहरूसँगै येशूकहाँ पठाए। तिनीहरूले गएर उहाँलाई भने, “हे गुरु, तपाईंले साँचो कुरा बोल्नुहुन्छ भनी हामीलाई थाहा छ। मानिसहरूलाई सिकाउनुहुँदा तपाईंले साँचोसित परमेश्वरको बाटो देखाउनुहुन्छ। मानिसहरूले के भन्लान् भनेर तपाईंले वास्ता पनि गर्नुहुन्न। तपाईंले त कसैको मुख हेरेर कुरा गर्नुहुन्न! तब हामीलाई भन्नुहोस्, व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउन तपाईंको विचारमा ठीक छ कि छैन?” तिनीहरूको यस्तो दुष्ट विचार बुझेर येशूले भन्नुभयो, “ए कपटीहरू हो, मलाई किन फसाउन खोज्छौ? खै कर तिर्ने सिक्का देखाओ त।” तिनीहरूले उहाँलाई सिक्का ल्याएर देखाए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो छाप र नाउँ कसको हो?” “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए। तब येशूले भन्नुभयो, “त्यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।” येशूको जवाफ सुनेर तिनीहरूले अचम्म माने अनि उहाँलाई छाडेर आ-आफ्नो बाटो लागे।