“स्वर्गको राज्य एक जना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीका लागि खेतालाहरू खोज्न बिहानै निस्क्यो। तिनीहरूलाई दिनको एक दिनार ज्याला दिन राजी भयो, र तिनीहरूलाई दाखबारीमा काम गर्न पठायो। “करिब बिहान नौ बजेतिर तिनी बाहिर गयो, र बजारमा कतिलाई केही नगरी उभिरहेका देख्यो। उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर; अनि जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु।’ अनि तिनीहरू गए। “ऊ फेरि दिउँसो बाह्र बजेतिर र करिब दिउँसोको तीन बजेतिर बाहिर गयो; अनि त्यसै गर्यो। अनि बेलुकाको पाँच बजेतिर ऊ बाहिर गयो, र अझ अरूलाई त्यसै उभिरहेका देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘तिमीहरू यहाँ केही नगरी किन दिनभरि उभिरहेका छौ?’ “तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’ “जब साँझ पर्यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाऊ, र काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिले आएकाहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’ “बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू पनि आए, र हरेकले एक-एक दिनार पाए। तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए, तब तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक-एक दिनार नै ज्याला पाए। जब तिनीहरूले आ-आफ्ना ज्याला पाए, तब तिनीहरू जमिनको मालिकसित गुनासो गर्न थाले। तिनीहरू गएर यसो भने, ‘यी पछि आएका काममा लगाइएका मानिसहरूले त एक घण्टाजति मात्र काम गरेका छन्, तर हामीले दिनभरि काम गरेका छौँ, र दिनको चर्को घाम सहेका छौँ। तर तपाईंले हामीसित तिनीहरूलाई बराबर तुल्याउनुभएको छ।’ “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ र? तिम्रो ज्याला लिएर जाऊ। म यस ढिलो काममा आउने मानिसलाई पनि तिमीलाई दिएको जति नै दिन चाहन्छु। मेरो आफ्नै रकमलाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन र? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’ “यसकारण पछिल्ला हुनेहरू पहिला हुनेछन्, र पहिला हुनेहरू पछिल्ला हुनेछन्।” जब येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, तब उहाँले साथमा बाह्र जनालाई एकातिर लगेर तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्; अनि उसलाई गैरयहूदीहरूका हातमा गिल्ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि ऊ तेस्रो दिनमा फेरि जीवित भई उठ्नेछ!”
मत्ती 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 20:1-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू