मत्ती 18:1-20

मत्ती 18:1-20 NCV

त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?” उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, र भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ; अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ। “यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने त्यसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइएको भए असल हुनेथियो। पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्‍कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्‍कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्! तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। “होसियार रहो, तिमीहरूबाट यी सानाहरूमध्ये एउटा पनि हेला नहोऊन्। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले सधैँ स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्। किनकि मानिसको पुत्र हराएकालाई बचाउन आएको हो। “तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, र तीमध्ये एउटा बाटो बिराएर गयो भने उसले उनान्सयलाई पहाडमा छोडेर त्यस बाटो बिराएर जाने एउटालाई खोज्न जाँदैन र? म तिमीहरूलाई साँच्‍चै भन्दछु, उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ। यसकारण यी सानाहरूमध्ये एउटै पनि नहराओस् भन्‍ने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले इच्छा गर्नुहुन्छ। “यदि तिम्रो सहविश्‍वासीले तिम्रो विरुद्धमा पाप गर्‍यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ। तर यदि उसले सुनेन भने आफ्नो साथमा अरू एक वा दुई जनालाई लैजाऊ र ‘दुई वा तीन साक्षीहरूद्वारा हरेक कुरा पक्‍का भएको होस्।’ यदि उसले तिनीहरूका कुरा पनि मानेन भने मण्डलीलाई यो भनिदेऊ। तर उसले मण्डलीको कुरा पनि मानेन भने तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैँ व्यवहार गर। “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ। “साँच्‍चै, म तिमीहरूलाई फेरि भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुई जनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूका निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा दिइनेछ। किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”

मत्ती 18 पढ्नुहोस्