मत्ती 18:1-20

मत्ती 18:1-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ को हो?” उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्‍याउनुभयो, र भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्‍ता भएनौ भने कहिल्‍यै स्‍वर्गको राज्‍यमा पस्‍नेछैनौ। जसले यो सानो बालकजस्‍तै आफूलाई नम्र तुल्‍याउँछ, त्‍यही स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ हुनेछ। जसले मेरो नाउँमा एउटा यस्‍तो बालकलाई ग्रहण गर्छ, त्‍यसले मलाई ग्रहण गर्छ। “तर जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्‍यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्‍यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्‍छ। “पाप गर्न लाउने परीक्षाहरूका निम्‍ति यस संसारलाई धिक्‍कार! पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ! तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई काटी मिल्‍काइदेऊ। दुवै हात वा दुवै खुट्टासाथ अनन्‍त आगोमा फालिनुभन्‍दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्‍नु तिम्रो निम्‍ति असल हुन्‍छ। तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई निकालेर फालिदेऊ। दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्‍दा त बरु कानो भएर जीवनभित्र पस्‍नु तिम्रो निम्‍ति असल हुन्‍छ। “होशियार रहो, तिमीहरूले यी सानाहरूमध्‍ये एक जनालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्‍दछु, स्‍वर्गमा तिनीहरूका दूतहरूले स्‍वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्‍छन्‌। [किनभने मानिसको पुत्र हराएकालाई बचाउन आएको हो। ] “तिमीहरू के विचार गर्छौ? कोही मानिसका सय भेड़ामा एउटा भड्‌केर गयो भने, उसले उनान्‍सय वटालाई छोड़ेर पर्वत हुँदो गएर त्‍यस भड्‌केर जाने एउटालाई खोजी गर्न जाँदैन र? यदि उसले त्‍यसलाई भेट्टायो भने, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, ती भड्‌केर नजाने उनान्‍सयभन्‍दा त्‍यस एउटाको लागि ऊ बढ़ी रमाउनेछ। यसरी नै स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको यो इच्‍छा छ, कि यी सानाहरूमध्‍ये एक जना पनि नष्‍ट नहोस्‌। “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो। तर त्‍यसले सुनेन भने आफ्‍नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्‍येक कुरा पक्‍का होस्‌। यदि त्‍यसले तिनीहरूका कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, मण्‍डलीलाई भन। त्‍यसले मण्‍डलीको कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, त्‍यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्‌। “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पृथ्‍वीमा जे बाँध्‍छौ, त्‍यो स्‍वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्‍वीमा जे फुकाउँछौ त्‍यो स्‍वर्गमा फुकाइनेछ। “फेरि म तिमीहरूलाई भन्‍दछु, पृथ्‍वीमा तिमीहरूमध्‍ये दुई जना कुनै कुरामा सहमत भई केही माग्‍यौ भने, त्‍यो स्‍वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्‍ति हुनेछ, किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्‍छन्, त्‍यहाँ म तिनीहरूका माझमा हुनेछु।”

शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्

मत्ती 18:1-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?” उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, र भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ; अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ। “यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने त्यसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइएको भए असल हुनेथियो। पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्‍कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्‍कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्! तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। “होसियार रहो, तिमीहरूबाट यी सानाहरूमध्ये एउटा पनि हेला नहोऊन्। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले सधैँ स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्। किनकि मानिसको पुत्र हराएकालाई बचाउन आएको हो। “तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, र तीमध्ये एउटा बाटो बिराएर गयो भने उसले उनान्सयलाई पहाडमा छोडेर त्यस बाटो बिराएर जाने एउटालाई खोज्न जाँदैन र? म तिमीहरूलाई साँच्‍चै भन्दछु, उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ। यसकारण यी सानाहरूमध्ये एउटै पनि नहराओस् भन्‍ने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले इच्छा गर्नुहुन्छ। “यदि तिम्रो सहविश्‍वासीले तिम्रो विरुद्धमा पाप गर्‍यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ। तर यदि उसले सुनेन भने आफ्नो साथमा अरू एक वा दुई जनालाई लैजाऊ र ‘दुई वा तीन साक्षीहरूद्वारा हरेक कुरा पक्‍का भएको होस्।’ यदि उसले तिनीहरूका कुरा पनि मानेन भने मण्डलीलाई यो भनिदेऊ। तर उसले मण्डलीको कुरा पनि मानेन भने तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैँ व्यवहार गर। “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ। “साँच्‍चै, म तिमीहरूलाई फेरि भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुई जनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूका निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा दिइनेछ। किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”

शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्

मत्ती 18:1-20 पवित्र बाइबल (NERV)

त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होलान्?” येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो। अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ। जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ। “यदि कुनै मानिसले मेरो नाममा यो बालकलाई ग्रहण गर्छ भने, उसले मलाई ग्रहण गरेको हुनेछ। “यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्ड्याएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ। जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दु:ख मान्छु। यस्तो घट्ना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन। “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अङ्ग गुमाएर सधैँ भरि बाँच्नु असल हो। यदि तिम्रा आँखाले तिमीलाई पापगर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुइवटा आँखा भएर सधैँ भरिलाई नरकको अग्निमा पस्नु भन्दात एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुनेछ। “होशियार बस। यी साना बालकलाई तुच्छ नठान। म तिमीहरूलाई भन्दछु यी बालकहरूका स्वर्गमा दुतहरू छन्। अनि ती दूतहरू स्वर्गमा मेरा पिताका साथमा छन्। परमेश्वरको पुत्र हराएकाहरूलाई वचाउन आउनु भएको छ। “तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेंडा़हरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेंडा़लाई डाँडामा छोडेर ऊ हराएको एउटा भेंडा़लाई खोज्न जाँदैन? के यो ठीक होइन? अनि जब उसले हराएको भेंडा़ भेट्टाउँछ तब ऊ आफूसित भएका 99 वटा भेंडा़मा भन्दा त्यो एउटा भेंडा़ पाएर रमाउनेछ। म तिमीहरूलाई साँच्चो भन्दछु। त्यसरीनै तिम्र स्वर्गका पिताको इच्छा यो छ कि यी मध्ये कुनै पनि साना बालकहरू नहराओस्। “यदि तिम्रा भाइ वा बहीनीले तिम्रो विरुद्धमा केही गल्ती गर्यो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गल्ती गरेको छ भनेर सम्झाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायौ। यदि उसले सुन्न अस्वीकार गर्यो भने अरू एक वा दुइ मानिसहरूलाई ल्याऊ जसमा ती दुइ वा तीन साक्षीहरूले त्यहाँ जे जति कुरा भए ती प्रमाणित गर्नेछन्। यदि उसले तिनीहरूका कुरा पनि सुन्न मानेन् भने यस मण्डली समक्ष ल्याऊ। मण्डली समुदायले भनेको कुरा मानेन भने उसलाइ परमेश्वरमा विश्वास नगर्ने र महसूल उठाउने सरह व्यवहार गर। “म तिमीहरूलाई साँच्चो भन्दछु। जब यो पृथ्वीमा तिमी न्यायको लागि बोल्दछौ, त्यो न्याय परमेश्वरबाट हुनेछ। जब तिमीले यो पृथ्वीमा क्षमाको बचन दिन्छौ, त्यो क्षमा परमेश्वरबाट हुनेछ। म तिमीलाई भन्छु, यो पृथ्वीमा केही कुराको बारेमा तिमीहरूमध्ये दुइजना मिलेर सहमत भयौ भने त्यसको निम्ति प्रार्थना गर्नसक्छौ। अनि तिमीहरूले जुन चीजको निम्ति प्रार्थना गर्छौ त्यो मेरा स्वर्गीय पिताबाट प्राप्त गर्नेछौ। यो साँच्चो हो, किनभने दुइ वा तीनजनाले म माथि विश्वास गरेर भेला हुन्छन्, भने, म त्यहाँ तिनीहरूका साथमा हुनेछु।”

शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्

मत्ती 18:1-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यति बेला चेलाहरू आएर येशूलाई सोधे, “परमेश्‍वरको राज्‍यमा सबभन्दा ठूलो को हुन्‍छ?” तब येशूले एउटा बालकलाई डाकेर तिनीहरूको बीचमा उभ्‍याउनुभयो र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, आफ्‍नो मनलाई परिवर्तन गरेर यस्‍तो बालकजस्‍तो भएनौ भने तिमीहरू कसै गरेर पनि परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनौ। यही बालकजस्‍तो नम्र हुने मानिस नै परमेश्‍वरको राज्‍यमा सबभन्दा ठूलो हुन्‍छ अनि मेरो नाउँमा यस्‍तै बालकलाई स्‍वागत गर्नेले मलाई नै स्‍वागत गर्छ। “यदि कसैले ममाथि विश्‍वास गर्ने यस्‍ता सानाहरूको विश्‍वासलाई बिगार्छ भने त्‍यसलाई त बरु घिच्रोमा जाँतो झुण्‍ड्याएर गहिरो समुद्रमा डुबाइदिनु नै बेस हुनेछ। धिक्‍कार यस संसारलाई! किनभने यस संसारमा त मानिसहरूलाई पापमा फसाउने कुराहरू छन्। यस्‍ता कुराहरू आइपर्दछन् नै, तर धिक्‍कार, त्‍यस मानिसलाई जसले अरूलाई पापमा फसाउँदछ! “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई काटेर मिल्‍काइदेओ। दुवै हात-खुट्टा लिएर कहिल्‍यै ननिभ्‍ने आगोमा पर्नुभन्दा त बरु डुँडे र खोरण्‍डो भएर अजम्‍मरी जीवन पाउनु नै बेस हो। अनि त्‍यसै गरी तिम्रा आँखाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई पनि झिकेर मिल्‍काइदेओ। दुईटा आँखा लिएर नरकको आगोमा पर्नुभन्दा त बरु कानो भएर अजम्‍मरी जीवन पाउनु नै बेस हो। “होश राख, यी साना बालकहरू कसैलाई पनि तिमीहरूले हेला नगर। म तिमीहरूलाई भन्‍छु, तिनीहरूको हेरचाहा गर्ने स्‍वर्गदूतहरू स्‍वर्गमा हुनुहुने मेरा परमेश्‍वर पिताकै अगाडि छन्। [किनभने म मानव पुत्र त हराएकाहरूलाई नै बचाउनको लागि आएको हुँ।] “तिमीहरूको के विचार छ? सय वटा भेडा हुने मानिसले एउटा भेडा हरायो भने त्‍यसले के गर्छ होला? त्‍यसले अरू उनान्‍सय वटालाई त्‍यही पाखामा छोडेर हराएकोलाई खोज्‍न जाँदैन र? त्‍यसलाई भेट्टाएपछि नबरालिएका उनान्‍सय भेडाहरूको लागि भन्दा पनि त्‍यो भेट्टाएको एउटै भेडाको लागि ऊ ज्‍यादै खुसी हुनेछ। ठीक त्‍यसरी नै स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले पनि यी सानाहरूमा कोही पनि हराएको चाहनुहुन्‍न। “यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गरेको छ भने उसलाई एक्‍लै गएर सम्‍झाऊ। उसले तिम्रो कुरा सुन्‍यो भने तिमीले उसलाई आफूपट्टि फर्काएको हुनेछौ। तर उसले तिम्रो कुरा सुनेन भने अरू एक-दुई जना सँगै गएर उसलाई सम्‍झाऊ किनभने धर्मशास्‍त्रले भनेजस्‍तो सबै झैं-झगडाहरूको फैसला गर्नलाई दुई वा तीन जना साक्षी बोलाउनुपर्छ। त्‍यति हुँदाहुँदै पनि उसले कुरा सुनेन भने मण्‍डलीमा गएर तिमीले पूरै कुरा खोलिदेओ अनि तिनीहरूको कुरा पनि उसले सुनेन भने उसलाई ईश्‍वर नमान्‍ने र कर उठाउनेलाई जस्‍तै गरी त्‍यागिदिनू। “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, जे तिमीहरूले यस पृथ्‍वीमा बाँध्‍छौ, त्‍यो स्‍वर्गमा पनि बाँधिनेछ। अनि जे तिमीहरूले यस पृथ्‍वीमा फुकाउला, त्‍यो स्‍वर्गमा पनि फुकाइनेछ। अनि म तिमीहरूलाई फेरि भन्‍छु, यस पृथ्‍वीमा तिमीहरू दुईले जे माग्‍ने हो, सो मिलेर माग्‍यौ भने स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले तिमीहरूलाई त्‍यो दिनुहुनेछ किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्‍छन्, म तिनीहरूको बीचमा हुनेछु।”

शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्