मलाकी 3:1-7

मलाकी 3:1-7 NCV

“हेर, म मेरो दूतलाई पठाउनेछु, जसले मेरो अगि-अगि बाटो तयार गर्नेछ। तब तिमीहरूले खोजिरहेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ; तिमीहरूले चाहना गरेका करारका सन्देशवाहक आउनुहुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। तर उहाँको आगमनको दिन कसले सहन सक्छ? उहाँ देखा पर्नुहुँदा को खडा रहन सक्छ? किनकि उहाँ सुनारको आगो अथवा धोबीको साबुनजस्तो हुनुहुनेछ। उहाँ चाँदी खार्ने र सफा गर्ने व्यक्तिझैँ बस्‍नुहुनेछ; अनि लेवीहरूलाई खारेर सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब धार्मिकतासाथ भेटी चढाउने मानिसहरू याहवेहकहाँ आउनेछन्; अनि यहूदा र यरूशलेमका भेटीहरू अगिका दिन र वर्षहरूमा जस्तै याहवेहलाई ग्रहणयोग्य हुनेछन्। “यसरी म तिमीहरूको न्याय गर्नलाई नजिक आउनेछु। म तन्त्रमन्त्र गर्नेहरू, व्यभिचारीहरू र झूटा शपथ खानेहरूको विरुद्धमा; अनि मजदुरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र अनाथमाथि अत्याचार गर्नेहरू र विदेशीहरूलाई न्यायबाट बञ्चित गर्नेहरू; अनि मेरो भय नमान्‍नेहरूका विरुद्धमा गवाही दिनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “म याहवेह कहिल्यै परिवर्तन हुँदिनँ। त्यसैले हे याकोबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ। तिमीहरूका पितापुर्खाहरूका समयदेखि नै तिमीहरू मेरा धार्मिक विधि-नियमहरूबाट तर्केर गएका छौ, र ती पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “तर तिमीहरू सोध्छौ, ‘हामी कसरी फर्कौँ?’

मलाकी 3 पढ्नुहोस्