मलाकी 3:1-7

मलाकी 3:1-7 NNRV

“हेर, म आफ्‍ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन्‌। तब एक्‍कासि ती प्रभु, जसलाई तिमीहरू खोज्‍दछौ, आफ्‍नो मन्‍दिरमा आउनेछन्, अर्थात्‌ करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। तर उहाँको आउने दिनमा को उभिन सक्‍छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्‍छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्‍तै हुनुहुनेछ। उहाँ चाँदी खार्ने र सफा गर्नेजस्‍तो गरी बस्‍नुहुनेछ। उहाँले लेवीहरूलाई शुद्ध पार्नुहुनेछ, र सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब परमप्रभुका मानिसहरू हुनेछन्, जसले धार्मिकतामा भेटी ल्‍याउनेछन्‌। तब यहूदा र यरूशलेमका भेटीहरू परमप्रभुलाई उहिलेझैँ ग्रहणयोग्‍य हुनेछन्‌। “यसैले म न्‍याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्‍यभिचारीहरू र झूटो गवाही बक्‍नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्‍यालामा ठग्‍नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्‍याचार गर्नेहरू, विदेशीलाई न्‍याय नगरिदिनेहरू, र मेरो डर नमान्‍नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “म परमप्रभु कहिल्‍यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्‍तान हो, तिमीहरू नष्‍ट भएका छैनौ। तिमीहरूका पिता-पुर्खाको समयदेखि नै तिमीहरू मेरा आदेशहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “तर तिमीहरू त सोध्‍छौ, ‘हामी कसरी फर्कौं?’