लूका 13:11-17

लूका 13:11-17 NCV

त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्‍ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्। येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्‍नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।” त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्‍वरको प्रशंसा गरिन्। येशूले शब्बाथमा निको पार्नुभएको हुनाले रिसाएका सभाघरका शासकले मानिसहरूलाई भने, “काम गर्नका निम्ति छ दिनहरू छँदैछन्। त्यसकारण यी छ दिनभित्र आओ र निको होओ; शब्बाथमा होइन।” तब प्रभुले तिनलाई जवाफ दिनुभयो, “ए कपटीहरू! के तिमीहरूमध्ये हरेकले शब्बाथमा गोठ र तबेलाबाट आफ्नो गोरु वा गधा फुकाएर त्यसलाई पानी खुवाउन बाहिर लैजाउँदैनौ र? त्यसो भए शैतानले अठार वर्षसम्म बन्धनमा राखेको अब्राहामकी यो छोरी शब्बाथमा यस बन्धनबाट मुक्त हुनुपर्ने होइन र?” उहाँले यो कुरा भन्‍नुभएपछि उहाँका सबै विरोधीहरू शर्ममा परे; तर अरू मानिसहरू उहाँले गरिरहनुभएका सबै उदेकका कामहरूमा आनन्दित भए।

लूका 13 पढ्नुहोस्