लूका 13:11-17
लूका 13:11-17 सरल नेपाली
त्यहाँ एक जना अठार वर्षदेखि भूत लागेर रोगाएकी स्वास्नी मानिस थिइन्। तिनी कुप्रिएर सोझो हुन नसक्ने भएकी थिइन्। येशूले ती स्वास्नी मानिसलाई देखेर अगाडि डाकेर भन्नुभयो, “हे स्त्री, अब तिमीले रोगबाट छुट्कारा पायौ।” उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो अनि तिनी तुरुन्तै सोझो भएर परमेश्वरको प्रशंसा गर्न लागिन्। ती स्त्रीलाई विश्रामको दिनमा निको पारेको देखेर सभाघरको शासक रिसाए। तिनले मानिसहरूलाई भने, “काम गर्न साताका छ दिन छँदैछ! विश्रामको दिनमा निको हुन किन आउँछौ? के यो दिनबाहेक अरू दिन छैन र?” प्रभुले तिनलाई यसरी जवाफ दिनुभयो, “ए कपटीहरू हो, के विश्रामको दिनमा तिमीहरूले गाई, गोरु या गधालाई फुकाएर पानी खुवाउन लाँदैनौ र? यो अब्राहामकी छोरीलाई शैतानले अठार वर्षदेखि पासोमा पारेको थियो, के पवित्र विश्रामको दिन हो भनेर तिनलाई छुट्कारा दिनुहुँदैन र?” उहाँको यस्तो जवाफ सुनेर विरोधीहरू लाजमा परे। मानिसहरू भने उहाँले गर्नुभएको अचम्मको काम देखेर खुसी भए।


