यूहन्‍ना 21:4-11

यूहन्‍ना 21:4-11 NCV

बिहानको मिरमिरेमा येशू किनारमा उभिनुभएको थियो; तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिन्‍न सकेनन्। उहाँले तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “हे बालकहरू हो! तिमीहरूसँग केही माछाहरू छन् कि?” “छैन,” तिनीहरूले उत्तर दिए। उहाँले फेरि भन्‍नुभयो, “डुङ्गाको दाहिनेपट्टि जाल हान, र तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे, र जालमा यति धेरै माछाहरू पर्‍यो कि तिनीहरूले जाल तान्‍नै सकेनन्। तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु नै हुनुहुन्छ! उहाँ प्रभु हुनुहुन्छ,” भन्‍ने सुन्‍नसाथ सिमोन पत्रुसले आफ्नो खास्टो कम्मरमा बेह्रेर पानीमा हाम फाले (किनकि तिनले लुगा फुकालेका थिए)। अरू चेलाहरू एउटा सानो डुङ्गामा माछाले भरिएका जाललाई तान्दै आए। किनकि किनार प्रायः नब्बे मिटर जति मात्र टाढा थियो। किनारमा आइपुगेपछि तिनीहरूले आगोको भुङ्ग्रोमा माछा राखिएका र केही रोटी देखे। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याओ।” सिमोन पत्रुसले डुङ्गामा चढेर जाललाई तानेर किनारमा ल्याए। गन्ती गर्दा एक सय त्रिपन्‍न वटा ठूला-ठूला माछा परेका रहेछन्, तर यति धेरै भए तापनि जाल फाटेको थिएन।

यूहन्‍ना 21 पढ्नुहोस्