यूहन्‍ना 21:4-11

यूहन्‍ना 21:4-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बिहान हुन लागेको थियो, येशू किनारमा खड़ा हुनुभयो। तर चेलाहरूले उहाँ येशू नै हुनुहुन्‍छ भनी चिनेनन्‌। येशूले तिनीहरूलाई भन्‍नुभयो, “बालक हो, तिमीहरूसँग केही माछा छ?” तिनीहरूले उहाँलाई उत्तर दिए, “छैन।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि भेट्टाउनेछौ।” तब तिनीहरूले जाल हाने, र माछाहरूको थुप्रोले गर्दा तिनीहरूले जाल तान्‍न सकेनन्‌। येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु पो हुनुहुँदोरहेछ।” “उहाँ प्रभु हुनुहुँदोरहेछ” भन्‍ने सुनेर सिमोन पत्रुसले आफ्‍नो बाहिरी वस्‍त्र कम्‍मरमा लपेटे, किनभने तिनले वस्‍त्र खोलेका थिए, र समुद्रमा हामफाले। अरू चेलाहरू डुङ्गामै बसी जाल तान्‍दै आए। तिनीहरू किनारदेखि टाढ़ा होइन, तर प्राय: सय मिटर जतिमा थिए। जब तिनीहरू किनारमा उत्रे, तब तिनीहरूले कोइलाको भुङ्‌ग्रोमा माछा राखिएका र रोटी देखे। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्‍याओ।” तब सिमोन पत्रुसले डुङ्गामा चढ़ेर एक सय त्रिपन्‍न वटा ठूला-ठूला माछाले भरिएको जाल पाखामा तानी ल्‍याए, तर यति धेरै भए तापनि जाल फाटेन।

शेयर गर्नुहोस्
यूहन्‍ना 21 पढ्नुहोस्

यूहन्‍ना 21:4-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बिहानको मिरमिरेमा येशू किनारमा उभिनुभएको थियो; तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिन्‍न सकेनन्। उहाँले तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “हे बालकहरू हो! तिमीहरूसँग केही माछाहरू छन् कि?” “छैन,” तिनीहरूले उत्तर दिए। उहाँले फेरि भन्‍नुभयो, “डुङ्गाको दाहिनेपट्टि जाल हान, र तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे, र जालमा यति धेरै माछाहरू पर्‍यो कि तिनीहरूले जाल तान्‍नै सकेनन्। तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु नै हुनुहुन्छ! उहाँ प्रभु हुनुहुन्छ,” भन्‍ने सुन्‍नसाथ सिमोन पत्रुसले आफ्नो खास्टो कम्मरमा बेह्रेर पानीमा हाम फाले (किनकि तिनले लुगा फुकालेका थिए)। अरू चेलाहरू एउटा सानो डुङ्गामा माछाले भरिएका जाललाई तान्दै आए। किनकि किनार प्रायः नब्बे मिटर जति मात्र टाढा थियो। किनारमा आइपुगेपछि तिनीहरूले आगोको भुङ्ग्रोमा माछा राखिएका र केही रोटी देखे। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याओ।” सिमोन पत्रुसले डुङ्गामा चढेर जाललाई तानेर किनारमा ल्याए। गन्ती गर्दा एक सय त्रिपन्‍न वटा ठूला-ठूला माछा परेका रहेछन्, तर यति धेरै भए तापनि जाल फाटेको थिएन।

शेयर गर्नुहोस्
यूहन्‍ना 21 पढ्नुहोस्

यूहन्‍ना 21:4-11 पवित्र बाइबल (NERV)

अर्को मिरमिरे बिहानमा येशू किनारमा उभिनुभयो। तर चेलाहरूले येशू हुनुहुनथ्यो भनेर चिनेनन्। तब येशूले तिनीहरूलाई भन्नुभयो, “साथीहरू हो! तिमीहरूले कुनै माछा पक्रियौ?” चेलाहरू ले भने, “अहँ।” येशूले भन्नुभयो, “माछा मार्ने जाल फ्याँक तिमीहरूको डुङ्गाको दाहिनेपट्टि। तिमीहरू त्यहाँ केही माछाहरू पाउनेछौ।” तिनीहरूले त्यसै गरे। तिनीहरूले यति धेरै माछाहरू पक्रे कि तिनीहरूले डुङ्गातर्फ जाल तान्न पनि सकेनन्। येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “ती मानिस प्रभु हुन्।” पत्रुसले “ती मानिस प्रभु हुन्” भनेको सुने र आफ्ना ओढ्ने बेरेर पानीमा हामफाले किनभने तिनले काम गर्नलाई लुगा खोलेका थिए। अन्य चेलाहरू डुङ्गामा चढेर किनारमा आए। तिनीहरूले माछाले भरिएको जाल ताने। तिनीहरू किनारदेखि टाढा थिएनन्। तिनीहरू लगभग सय मिटर भित्र थिए। जब तिनीहरू किनारमा पुगे, तिनीहरूले जलिरहेको तातो कोइला देखे। त्यहाँ आगोमा केही माछा अनि केही रोटीका टुक्रा थिए। येशूले भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेको केही माछाहरू ल्याऊ।” शिमोन पत्रुस डुङ्गातर्फ गए र किनार तिर जाल ताने। त्यो ठूला-ठूला माछाले भरिएको थियो। त्यहाँ जम्मा एक सय त्रिपन्नवटा माछाहरू थिए। माछाहरू एकदमै गह्रों थियो र पनि जाल फाटेन।

शेयर गर्नुहोस्
यूहन्‍ना 21 पढ्नुहोस्

यूहन्‍ना 21:4-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बिहान उज्‍यालो हुन लाग्‍दा येशू किनारमा उभिनुभएको थियो। तर चेलाहरूले येशू नै हुनुहुन्‍छ भनेर चिन्‍न सकेनन्। येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए भाइ हो, तिमीहरूले केही माछा मारेका छौ कि?” तिनीहरूले जवाफ दिए, “अहँ एउटै पनि मारेका छैनौं!” येशूले तिनीहरूलाई भन्‍नुभयो, “नाउको दाहिनेपट्टि जाल हान र तिमीहरूले माछा फेला पार्नेछौ।” येशूले भनेकै ठाउँमा तिनीहरूले जाल हाने। माछा यति धेरै पर्‍यो कि तिनीहरूले जाल तान्‍नै सकेनन्। यो देखेर येशूका धेरै प्‍यारा चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्‍छ!” “उहाँ प्रभु हुनुहुन्‍छ,” भनेको सुन्‍नेबित्तिकै पत्रुस आफ्‍नो फुकालेको लुगा बेरेर पानीमा हामफाले। अरू चेलाहरूचाहिँ नाउमा चढेर माछाले भरिएको जाल तान्‍दै किनारमा आए। तिनीहरू जमिनबाट धेरै टाढा त थिएनन्, अन्‍दाजी सय मिटरजति मात्रै पर थिए। किनारमा आइपुग्‍दा तिनीहरूले आगोको भुङ्ग्रामाथि माछा र रोटी देखे। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले पक्रेका अलिकति माछा ल्‍याओ!” सिमोन पत्रुसले पानीबाट निस्‍केर ठूला-ठूला माछाले भरिएको जाल तानेर जमिनमा ल्‍याए। जम्‍मा एक सय त्रिपन्‍न वटा माछा परेका रहेछन्। तर यति धेरै माछा परेर पनि त्‍यो जाल च्‍यातिएन।

शेयर गर्नुहोस्
यूहन्‍ना 21 पढ्नुहोस्