याकोब 1:1-11

याकोब 1:1-11 NCV

परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकोबबाट, संसारैभरि छरिएका बाह्रै कुललाई: अभिवादन! मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्‌हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ; किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ। तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ। यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ। तर जब कसैले माग्छ, त्यसले विश्‍वास गर्नुपर्छ र शङ्का गर्नुहुन्‍न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो। त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ। दीन अवस्थाका विश्‍वासीहरूले परमेश्‍वरले दिनुभएको आफ्नो उच्‍च अवस्थामा गर्व गरून्, तर धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरून्; किनकि तिनीहरू त घाँसको फूलझैँ ओइलाएर जानेछन्। किनकि चर्को तापसित सूर्य उदाउँछ, र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, र त्यसको सौन्दर्य नष्‍ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ।

याकोब 1 पढ्नुहोस्