अब विश्वासचाहिँ हामीले गरेको आशाको निश्चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो। यही विश्वासद्वारा प्राचीन कालका मानिसहरूको प्रशंसा भएको थियो। विश्वासैद्वारा हामी बुझ्दछौँ, कि परमेश्वरको वचनले विश्व बनियो, र देखिने कुराहरू नदेखिने थोकहरूबाट बनिए। विश्वासैद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए। परमेश्वरले तिनको भेटीको विषयमा असल कुरा भन्नुहुँदा विश्वासैबाट तिनले धर्मी मानिस हुन् भन्ने प्रशंसा पाए। तिनी मरेर गए, तापनि तिनी विश्वासैद्वारा अझ बोलिरहेका छन्। विश्वासद्वारा नै हनोकले मृत्युको अनुभव नगरी उठाइए: “अनि तिनी फेला परेनन्; किनकि परमेश्वरले नै तिनलाई उठाइलैजानुभयो;” किनकि तिनी उठाइनुअगि नै तिनले परमेश्वरलाई खुशी पार्ने व्यक्तिको रूपमा प्रशंसा पाएका थिए। विश्वासविना परमेश्वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्वरकहाँ आउँछन्, तिनले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ। विश्वासैद्वारा नोआले नदेखेका कुराहरूको विषयमा चेतावनी पाउँदा आफ्नो परिवारलाई बचाउनको लागि आदरको भयमा एउटा जहाज बनाए। आफ्नो विश्वासद्वारा तिनले संसारलाई दोषी ठहराए, र विश्वासैद्वारा धार्मिकताका उत्तराधिकारी भए। विश्वासैद्वारा अब्राहामले उनलाई जानू भनेको ठाउँमा आज्ञाकारी भएर गए, जुन ठाउँ पछिबाट मात्रै उत्तराधिकारको रूपमा प्राप्त हुनेवाला थियो। यद्यपि तिनी कहाँ जानुपर्ने हो, सो थाहा थिएन। विश्वासैद्वारा परदेशीझैँ भएर तिनी प्रतिज्ञाको देशमा रहे, तिनी इसहाक र याकोबसँग पालमा बसे; जो तिनीजस्तै त्यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए। किनकि तिनले स्थायी जग भएको सहरलाई हेरिरहेका थिए, जसको रचनाकार र निर्माता परमेश्वर नै हुनुहुन्छ। साराको गर्भधारण गर्ने उमेर गइसकेको भए तापनि विश्वासैद्वारा तिनले गर्भधारण गर्ने क्षमता प्राप्त गरिन्; किनकि प्रतिज्ञा दिनुहुने विश्वासयोग्य हुनुहुन्छ भनी तिनले विश्वास गरिन्। यसरी नै यी एक जना मानिस, जो मरेतुल्य भए तापनि यिनैबाट आकाशका अनगन्ती ताराहरू र समुद्रका किनारका बालुवाझैँ असंख्य सन्तान भए। यी सबै मानिसहरू मृत्युसम्म विश्वासमै बाँचेका थिए। तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू पाएनन्, तर (विश्वासद्वारा) तिनीहरूले टाढैबाट देखेर स्वागत गरे; किनकि तिनीहरू यस संसारमा बिराना र परदेशी हुन् भनी तिनीहरूले मानिलिए। यस्ता कुराहरू गर्ने मानिसहरूले यो देखाउँछन्, कि तिनीहरूले त्यो देशको खोजी गरिरहेका छन्, जो तिनीहरूको आफ्नै थियो। यदि तिनीहरूले आफूले छोडेर आएको देश नै सम्झिरहेको भए, तिनीहरूलाई फर्किजाने मौका मिल्नेथियो। यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्वर तिनीहरूका परमेश्वर हुँ भन्न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार गरिदिनुभएको छ। विश्वासैद्वारा अब्राहामले, तिनको परमेश्वरद्वारा जाँच हुँदा इसहाकलाई बलिदानको रूपमा चढाइहालेका थिए। अब्राहाम, जसले प्रतिज्ञालाई अँगालेका थिए, तिनैले आफ्नो एउटै पुत्रलाई बलिदान चढाउन तयार भएका थिए; यद्यपि परमेश्वरले तिनलाई भन्नुभएको थियो, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।” परमेश्वरले मरेकाहरूलाई पनि जीवित पार्न सक्नुहुन्छ भनी अब्राहामले तर्क गरेर सोचे, र एक अर्थमा इसहाकलाई मृत्युबाट फिर्ता पाए। विश्वासैद्वारा इसहाकले याकोब र एसावलाई तिनीहरूका भविष्यबारे आशिष् दिए। विश्वासैद्वारा याकोबले आफू मर्ने बेलामा र आफ्नो लहुरोको टुप्पोमा अडेस लागेर योसेफका दुवै छोरालाई आशीर्वाद दिए। विश्वासैद्वारा योसेफले पनि आफ्नो अन्त्य नजिक आइपुग्दा इस्राएलीहरू इजिप्टबाट निस्केर आउने कुरा गरे, र आफ्ना हड्डीहरू गाड्ने विषयमा निर्देशन दिए। विश्वासैद्वारा मोशाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म लुकाइ राखे; किनकि तिनीहरूले बालक असाधारण भएको देखे, र तिनीहरूले राजाको हुकुमदेखि डर मानेनन्। विश्वासैद्वारा मोशाले, जवान भएपछि फारोकी छोरीको छोरा कहलाइन अस्वीकार गरे। पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्वरका जनहरूसित थिचोमिचोमा पर्नु तिनी राजी भए। इजिप्टको धनसम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले बढ्ता मूल्यको सम्झे; किनकि तिनले आफ्नो दृष्टिलाई पछि प्राप्त हुने प्रतिफलतिर लगाएका थिए। विश्वासैद्वारा तिनले राजाको रिसको डरै नमानी इजिप्ट देशलाई त्यागे; किनकि अदृश्य हुनुहुने परमेश्वरलाई देखेर तिनी स्थिर रहिरहे। पहिले जन्मेकोलाई नाश गर्नेले इस्राएलका पहिले जन्मेकाहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगतको प्रयोग गरे। विश्वासैद्वारा मानिसहरूले लाल समुद्र सुक्खा जमिनझैँ तरे; तर जब इजिप्टियनहरूले त्यसै गर्न खोज्दा, तिनीहरू डुबेर मरे। सात दिनसम्म सेनाहरूले यरीहोको परिक्रमा गरेपछि विश्वासैद्वारा पर्खालहरू ढले। विश्वासैद्वारा राहाब वेश्या ती अनाज्ञाकारीहरूसित मारिइनन्; किनकि तिनले ती जासुसहरूलाई स्वागत गरेकी थिइन्।
हिब्रूहरू 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरू 11:1-31
7 Days
Everything that has been created on earth by human beings started in the imagination of somebody’s mind. This is a gift from God. In this 7-day study we will learn about the relationship between your imagination and faith. I want to help you unlock your imagination in a way that has never been done before.
७ दिन
आनन्दित, उद्देश्यले भरिएको जीवन सम्बन्ध, प्रेम र विश्वासमा आधारित छ। यदि तपाईँ आफ्नो जीवनको लागि परमेश्वरको योजनामा थप स्पष्टता खोज्दै हुनुहुन्छ भने, आफ्नो अनुसरण र खोजमा ध्यान केन्द्रित गर्न यो योजनामा संलग्न हुनुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू