उत्पत्ति 3:7-21
उत्पत्ति 3:7-21 NCV
तब ती दुवैका आँखा खुले, र आफू नाङ्गा भएका तिनीहरूले थाहा पाए। यसकारण तिनीहरूले ढाक्नका लागि नेभाराका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए। जब याहवेह परमेश्वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके। तर याहवेह परमेश्वरले मानिसलाई, “तँ कहाँ छस्?” भनी बोलाउनुभयो। तिनले जवाफ दिए, “मैले बगैँचामा तपाईंको सोर सुनेँ, र मलाई डर लाग्यो, किनकि म नाङ्गो थिएँ; त्यसैले म लुकेँ।” अनि उहाँले भन्नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो? मैले नखानू भनी आदेश दिएको त्यस रूखबाट तैँले खाइस्?” आदमले भने, “तपाईंले मसँगै रहन भनी दिनुभएको स्त्रीले त्यस रूखबाट मलाई केही फल दिई, र मैले खाएँ।” तब याहवेह परमेश्वरले स्त्रीलाई भन्नुभयो, “तैँले यो के गरिस्?” त्यस स्त्रीले जवाफ दिई, “सर्पले मलाई छल गर्यो, र मैले खाएँ।” यसकारण याहवेह परमेश्वरले सर्पलाई भन्नुभयो, “तैँले यसो गरेको कारण, “तँ सबै घरपालुवा जनावरहरू र सबै जङ्गली जनावरहरूमध्ये तैँले मात्र श्राप पाउनेछस्! तँ पेटको बलले घस्रनेछस्, तेरो सारा जीवनभरि, तैँले धुलो खानेछस्। अनि तेरो र स्त्रीको बीचमा, अनि तेरा र स्त्रीका सन्तानको बीचमा दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, अनि तैँले त्यसको कुर्कुच्चा डस्नेछस्।” स्त्रीलाई उहाँले भन्नुभयो, “म तेरो गर्भावस्थाको पीडा ज्यादै बढाइदिनेछु; बडो कष्टसाथ तैँले सन्तान जन्माउनेछस्। तेरो चाहना तेरो पतितर्फ नै हुनेछ, र उसले तँमाथि अधिकार जमाउनेछ।” आदमलाई उहाँले भन्नुभयो, “किनकि तैँले तेरी पत्नीको कुरा सुनेको र मैले तँलाई ‘खाँदै नखानू भनी आदेश दिएको रूखको फल खाएको हुनाले,’ “तेरो कारणले भूमिमा श्राप परेको छ; तेरो जीवनकालभरि तैँले कष्टसाथ परिश्रम गरेर त्यसको फल खानेछस्। भूमिले तेरा निम्ति काँडा र सिउँडी उमार्नेछ; अनि तैँले खेतबारीका सागपात खानेछस्। जबसम्म तँ माटोमा फर्किजाँदैनस्, तबसम्म तेरो निधारको पसिनाद्वारा तैँले आफ्नो भोजन खानेछस्; किनकि तँ धुलो होस्, र तँ धुलोमा नै फर्किजानेछस्; किनकि यसैबाट तँ बनाइएको थिइस्।” आदमले आफ्नी पत्नीको नाम हव्वा राखे; किनकि तिनी नै सबै जीवितहरूकी आमा थिइन्। याहवेह परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाको वस्त्र बनाएर पहिर्याइदिनुभयो।


