जब पत्रुस एन्टिओखियामा आए, तब मैले खुल्लमखुल्ला उनको विरोध गरेँ, किनकि उनी एकदमै दोषी थिए। याकोबले पठाएका मानिसहरू आइपुग्नुअगि उनी गैरयहूदी विश्वासीहरूसँगै खाने गर्दथे। तर जब उनीहरू आइपुगे, तब उनी गैरयहूदी विश्वासीहरूबाट अलग भए; किनकि उनी खतना भएकाहरूसँग डराएका थिए। उनको यस पाखण्डीपनासँग अरू यहूदीहरू पनि सहमत भए। यहाँसम्म कि तिनीहरूका पाखण्डीपनाले गर्दा बारनाबास पनि भड्केर गए। जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार व्यवहार नगरेको देखेँ, तब मैले पत्रुसलाई सबैको सामु खुल्लमखुल्ला भनेँ, “तपाईं यहूदी हुनुहुन्छ, तापनि तपाईं यहूदी रीतिअनुसार नचलेर गैरयहूदी रीतिअनुसार जिउनुहुन्छ। तब कसरी तपाईंले गैरयहूदीहरूलाई यहूदी परम्परालाई पछ्याउन कर लगाउनुहुन्छ? “हामी जन्मैले यहूदी हौँ, र गैरयहूदीझैँ पापीहरू होइनौँ। हामी यो जान्दछौँ, कि मानिस व्यवस्थाको कामलाई पालन गरेर धर्मी ठहरिँदैन; तर येशू ख्रीष्टमा विश्वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्ट येशूमा विश्वास राखेका छौँ। हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्टमा विश्वास गरेर धर्मी ठहरिएकाछौँ; किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन। “तर यदि हामी यहूदीहरू ख्रीष्टद्वारा धर्मी ठहरिन खोज्दछौँ भने हामीहरू पनि पापीहरू नै हौँ भन्ने बुझिन्छ, के यसको मतलब येशू ख्रीष्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? अहँ, होइन! यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाउँछु भने म आफैँ व्यवस्था भङ्ग गर्ने पापी बन्छु। “किनकि परमेश्वरको निम्ति जिउन सकूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु। म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो। म परमेश्वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्नँ; किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्ट मर्नुभएको व्यर्थ हुन्छ।”
गलाती 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 2:11-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू