गलाती 2:11-21
गलाती 2:11-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जब केफास एन्टिओखियामा आए, तब मैले उनलाई खुल्लमखुल्ला विरोध गरें। किनकि उनी दोषी थिए। याकूबले पठाएका मानिसहरू आउनभन्दा अघि उनले अन्यजातिहरूका साथमा खाने गर्दथे। तर जब तिनीहरू आइपुगे तब उनी अन्यजातिहरूबाट पछि हटेर अलग भए, किनकि उनी खतनाका दलदेखि डराएका थिए। अरू बाँकी यहूदीहरूले पनि त्यस्तै कपटपूर्ण काम गरे। यहाँसम्म, कि तिनीहरूको कपटपूर्ण व्यवहारले गर्दा बारनाबास पनि भड्केर गए। तर जब सुसमाचारको सत्यताबमोजिम तिनीहरू नचलेका मैले देखें, तब तिनीहरू सबैका सामुन्ने मैले केफासलाई भनें, “तपाईं यहूदी भईकन यहूदीजस्तो नभई अन्यजातिहरूजस्तै चल्नुहुन्छ भने, अन्यजातिहरूलाई यहूदीजस्तै जिउन कसरी कर लाउनुहुन्छ?” हामी जन्मैका यहूदी हौं, र अन्यजाति जस्तै पापी होइनौं, र पनि हामी जान्दछौं, व्यवस्थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टमाथिको विश्वासद्वारा धर्मी ठहरिन्छ। यसकारण हामीले पनि हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्यौं, ताकि हामी व्यवस्थाका कामद्वारा होइन तर ख्रीष्टमा राखिएको विश्वासद्वारा धर्मी ठहरिन सकौं, किनकि व्यवस्थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन। तर यदि ख्रीष्टमा धर्मी ठहरिने प्रयत्न गर्दा हामी पापी भेट्टाइन्छौं भने, ख्रीष्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? कदापि होइन। किनकि आफैले भत्काएको कुरा मैले फेरि बनाएँ भने, आफैले आफैलाई म अपराधी हुँ भन्ने साबित गर्छु। किनकि परमेश्वरको निम्ति म जिउन सकूँ भनेर व्यवस्थाद्वारा व्यवस्थाको लेखि म मरेको छु। म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। परमेश्वरको अनुग्रह म पन्साउँदिनँ, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भनेता ख्रीष्ट व्यर्थैमा मर्नुभयो।
गलाती 2:11-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब पत्रुस एन्टिओखियामा आए, तब मैले खुल्लमखुल्ला उनको विरोध गरेँ, किनकि उनी एकदमै दोषी थिए। याकोबले पठाएका मानिसहरू आइपुग्नुअगि उनी गैरयहूदी विश्वासीहरूसँगै खाने गर्दथे। तर जब उनीहरू आइपुगे, तब उनी गैरयहूदी विश्वासीहरूबाट अलग भए; किनकि उनी खतना भएकाहरूसँग डराएका थिए। उनको यस पाखण्डीपनासँग अरू यहूदीहरू पनि सहमत भए। यहाँसम्म कि तिनीहरूका पाखण्डीपनाले गर्दा बारनाबास पनि भड्केर गए। जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार व्यवहार नगरेको देखेँ, तब मैले पत्रुसलाई सबैको सामु खुल्लमखुल्ला भनेँ, “तपाईं यहूदी हुनुहुन्छ, तापनि तपाईं यहूदी रीतिअनुसार नचलेर गैरयहूदी रीतिअनुसार जिउनुहुन्छ। तब कसरी तपाईंले गैरयहूदीहरूलाई यहूदी परम्परालाई पछ्याउन कर लगाउनुहुन्छ? “हामी जन्मैले यहूदी हौँ, र गैरयहूदीझैँ पापीहरू होइनौँ। हामी यो जान्दछौँ, कि मानिस व्यवस्थाको कामलाई पालन गरेर धर्मी ठहरिँदैन; तर येशू ख्रीष्टमा विश्वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्ट येशूमा विश्वास राखेका छौँ। हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्टमा विश्वास गरेर धर्मी ठहरिएकाछौँ; किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन। “तर यदि हामी यहूदीहरू ख्रीष्टद्वारा धर्मी ठहरिन खोज्दछौँ भने हामीहरू पनि पापीहरू नै हौँ भन्ने बुझिन्छ, के यसको मतलब येशू ख्रीष्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? अहँ, होइन! यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाउँछु भने म आफैँ व्यवस्था भङ्ग गर्ने पापी बन्छु। “किनकि परमेश्वरको निम्ति जिउन सकूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु। म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो। म परमेश्वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्नँ; किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्ट मर्नुभएको व्यर्थ हुन्छ।”
गलाती 2:11-21 पवित्र बाइबल (NERV)
जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए। यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित सँगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे। त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे। मैले यी यहूदीहरूको मन विचारें। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाउँछौ?” हामी यहूदीहरू जन्मैका यहूदी हौं, गैर-यहूदी “पापीहरू” जस्ता होइनौं। हामी जान्दछौं, व्यवस्था मान्दैमा कोही पनि परमेश्वरको अघि धर्मी बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्मी बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन्। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्मी बन्न सक्दैन। धर्मी बन्न हामी ख्रीष्टमा विश्वास गर्यौ। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाउँछन्? पक्कै होइन। यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरें भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरें। व्यवस्थामा बाँच्न मैले त्यागीसकेकोछु। त्यही व्यवस्थाले मलाई मार्यो। ती व्यवस्थाकोलागि म मरिसकेकोछु ताकि म परमेश्वरकोलागि बाँचेकोछु। म ख्रीष्टसितै क्रूसमा टाँगिएँ। यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैंलाई अर्पण गर्नु भयो। परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।
गलाती 2:11-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पत्रुस एन्टिओखिया आएको बेला मैले खुल्लमखुल्ला उनको दोष देखाइदिएँ। उनी दोषी थिए। याकूबले पठाएका मानिस आउनुभन्दा अघि पत्रुसले अरू जातिका विश्वासीहरूसँगै बसेर खाँदै थिए। तर तिनीहरू आएपछि भने अरू जातिका विश्वासीहरूबाट छुट्टिएर बसे किनभने अरू जातिका मानिसमा पनि खतना लाउनुपर्छ भन्नेहरूदेखि उनी डराए। ती अरू इस्राएली दाजुभाइहरू पनि पत्रुसजस्तै डराए। बारनाबाससमेत तिनीहरूको डरले लरखराए। मैले उनीहरूलाई सुसमाचारको सत्यताबाट अलमलिएको देखें र पत्रुसलाई सबैको सामु भने, “तपाईं इस्राएली हुनुहुन्छ र पनि तपाईं अरू जातिका मानिसहरूजस्तै हुनुहुन्छ, इस्राएलीजस्तै हुनुहुन्न। कसरी तपाईंले अरू जातिका मानिसहरूलाई चाहिँ इस्राएली चालमा चल्न लाउनुहुन्छ?” हुन त हामी जन्मैका इस्राएली हौं, अरू जातिका पापी मानिसजस्ता होइनौं। तर कुनै पनि मानिस व्यवस्था मानेर होइन तर येशू ख्रीष्टमा विश्वास गरेर परमेश्वरको सामु ठीक ठहरिन्छ। यो कुरा जानेर हामीले पनि परमेश्वरका सामु ठीक ठहरिन ख्रीष्ट येशूमा विश्वास गरेका छौं तर व्यवस्था मानेर त होइन। यदि हामी ख्रीष्टमा एक भएरै परमेश्वरका सामु ठीक ठहरिन खोज्दा हामी इस्राएली पनि अरू जातिका मानिसजस्तै पापी नै फेला पर्यौं भने के ख्रीष्टले पापको सेवा गर्नुभयो त? अँहँ, होइन। यदि आफैंले भत्काएर लडाएको चीजलाई नै फेरि म उठाएर बनाउँछु भने ता म आफैं नियमलाई मिचेर अपराधी बन्छु। त्यसो हुँदा म परमेश्वरको लागि जिउन व्यवस्थाको लागि मरेको छु। म क्रूसमा ख्रीष्टसँगै मारिएको छु, तैपनि म जिउँछु। त्यसैकारण मभित्र म जिउँदिनँ, ख्रीष्ट जिउनुहुन्छ। यो अहिले शरीरमा जिएको जीवन म परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु। उहाँले नै मलाई माया गर्नुभयो र आफ्नो जीवनै मेरो लागि दिनुभयो। म परमेश्वरको अनुग्रहलाई हेला गर्न सक्तिनँ। यदि मानिस व्यवस्थाले ठीक हुन्छ भने त ख्रीष्ट बलि हुनु बेकार थियो।