प्रस्थान 4:1-9
प्रस्थान 4:1-9 NCV
तब मोशाले जवाफ दिए, “यदि तिनीहरूले मलाई विश्वास गरेनन् अथवा मेरा कुरा सुनेनन् र ‘याहवेह तिमीसित देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने के गर्ने?” तब याहवेहले तिनलाई भन्नुभयो, “तेरो हातमा भएको त्यो के हो?” तिनले भने, “एउटा लहुरो।” याहवेहले भन्नुभयो, “त्यसलाई भुइँमा फाल्।” मोशाले त्यसलाई भुइँमा फाले, र त्यो एउटा सर्प भयो, र मोशा डराएर भागे। तब याहवेहले तिनलाई भन्नुभयो, “आफ्नो हात पसारेर त्यसको पुच्छरमा समात्।” यसकारण मोशाले हात पसारेर त्यस सर्पलाई समाते, र त्यो तिनको हातमा पहिलेझैँ लहुरो भइगयो। याहवेहले भन्नुभयो, “यो याहवेह तिनीहरूका पितापुर्खाका परमेश्वर—अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर तिमीकहाँ देखा पर्नुभएको हो भनी तिनीहरूले विश्वास गरून् भनेर हो।” तब याहवेहले भन्नुभयो, “तेरो हात तेरो वस्त्रभित्र हाल्।” यसकारण मोशाले आफ्नो हात आफ्नो वस्त्रभित्र हाले; अनि जब तिनले त्यसलाई बाहिर निकाले, तब त्यसमा कुष्ठरोग लागेर हिउँझैँ सेतो भयो। उहाँले भन्नुभयो, “अब त्यसलाई आफ्नो वस्त्रभित्र फेरि हाल्।” यसकारण मोशाले आफ्नो हात फेरि वस्त्रभित्र हाले, र जब तिनले त्यसलाई बाहिर निकाले, त्यो शरीरका अरू भागझैँ सद्दे भइहाल्यो। तब याहवेहले भन्नुभयो, “यदि तिनीहरूले तँलाई विश्वास गरेनन् अथवा पहिलो अद्भुत चिन्हमा ध्यान दिएनन् भने तिनीहरूले दोस्रोमा विश्वास गर्लान्। तर यदि तिनीहरूले यी दुई अलौकिक चिन्हहरूमाथि विश्वास गरेनन्, अथवा तेरो कुरा सुनेनन् भने नील नदीबाट केही पानी लिएर त्यसलाई ओबानो भूमिमा पोखाई दिनू। तैँले नदीबाट लिएको पानी सुक्खा भूमिमा रगत हुनेछ।”

