प्रस्थान 4:1-9 - Compare All Versions
प्रस्थान 4:1-9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले भने, “यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने, के गर्ने?” तब परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” परमप्रभुले भन्नुभयो, “त्यो भूइँमा फाल्।” मोशाले त्यो भूइँमा फालिदिए, र त्यो एउटा सर्प भयो, र मोशा त्यसदेखि डराएर भागे। तब परमेश्वरले मोशालाई भन्नुभयो, “तेरो हात लम्काएर त्यसको पुच्छरमा समात्।” अनि मोशाले हात लम्काएर समाते, र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। परमप्रभुले भन्नुभयो, “तिनीहरूले तिनीहरूका पिता-पुर्खाका परमेश्वर, अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्याऊन्।” तब परमप्रभुले तिनलाई अझै यसो भन्नुभयो, “तेरो हात आफ्नो खास्टोभित्र हाल्।” तिनले आफ्नो हात खास्टोभित्र हाले, र जब तिनले त्यो बाहिर निकाले, तब त्यो कुष्ठरोग लागेर हिउँजस्तै सेतो भएको रहेछ। उहाँले तिनलाई भन्नुभयो, “तेरो हात फेरि खास्टोभित्र हाल्।” तिनले फेरि आफ्नो हात खास्टोभित्र हाले, र जब फेरि निकाले, तब त्यो आफ्नो शरीरको अरू मासुजस्तै भइहाल्यो। तब परमेश्वरले भन्नुभयो, “तिनीहरूले तेरा कुरा पत्याएनन् र त्यो पहिलो चिन्हलाई वास्ता गरेनन् भने, शायद तिनीहरूले पछिल्लो चिन्हलाई पत्याउनेछन्। तर तिनीहरूले यी दुवै चिन्हहरू पनि पत्याएनन् र तेरा कुरा पनि सुनेनन् भने, नील नदीका केही पानी लिएर सुक्खा जमिनमा खन्याइदे। तैंले नील नदीबाट लिएको त्यो पानी जमिनमा रगत हुनेछ।”
प्रस्थान 4:1-9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले परमप्रभुलाई उत्तर दिए, “तर यदि इस्राएलीहरूले मलाई विश्वास गरेनन् र मेरा कुरा सुनेनन् अनि तपाईंले मलाई दर्शन दिनुभएको कुरा हुँदै होइन भनी तिनीहरूले भनेमा मैले के गर्नु?” परमप्रभुले सोध्नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” परमप्रभुले भन्नुभयो, “त्यो भूइँमा फाल्।” मोशाले लट्ठी भूइँमा फ्याँके अनि त्यो साँप भयो र मोशा डरले भागे। तब परमप्रभुले मोशालाई भन्नुभयो, “घोप्टेर त्यसको पुच्छर समातेर उठा।” मोशाले त्यसै गरे र त्यो हातमा लट्ठी नै भइगयो। परमप्रभुले भन्नुभयो, “यसो गरेर तैँले इस्राएलीहरूलाई परमप्रभु तिनीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वरले तँलाई दर्शन दिनुभएको हो भनेर प्रमाण दिनेछस्।” परमप्रभुले फेरि मोशालाई भन्नुभयो, “तेरो हात खास्टोभित्र हाल्।” मोशाले त्यसै गरे र हात बाहिर निकाल्दा त्यो रोग लागेर हिउँजस्तै सेतो थोप्लैथोप्ला भएको थियो। तब परमप्रभुले भन्नुभयो, “तेरो हात फेरि खास्टोभित्र हाल्।” मोशाले त्यसै गरे र फेरि हात बाहिर निकाल्दा त्यो आफ्नो शरीरको अरू भागजस्तै राम्रो भएको थियो। परमप्रभुले भन्नुभयो, “तिनीहरूले तँलाई विश्वास गरेनन् भने र त्यो पहिलो चिन्ह पत्याएनन् भने यो चिन्हले गर्दा तिनीहरूले पत्यार गर्नेछन्। कतै यी दुई चिन्हहरू देखेर पनि तिनीहरूले पत्यार गरेनन् र तेरा कुरा मानेनन् भने नील नदीबाट अलिकता पानी लिएर जमिनमा पोखाई दिनू, त्यो पानी रगत बनिनेछ।”
प्रस्थान 4:1-9 NERV (पवित्र बाइबल)
तब मोशाले परमेश्वरलाई भने, “तर इस्राएलीहरूले मलाई विश्वास गर्ने छैनन जब म तिनीहरूलाई भन्छु तपाईंले मलाई पठाउनु भयो। तिनीहरू भन्ने छन्, परमप्रभु तिमीअघि प्रकट हुनुभएन?” तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?” मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।” तब परमेश्वरले मोशालाई भन्नु भयो, “त्यो तिम्रो हिँड्ने लहुरो भूँईंमा फ्याँकि देऊ।” मोशाले आफ्नो लहुरो भूईंमा फ्याँकिदिए पछि अचनाक लहुरो सर्पमा परिणत भयो। मोशा डराए अनि त्यहाँबाट टाढा गए। तर परमप्रभुले मोशालाई भन्नुभयो, “अघि बढ र सर्पको पुच्छरमा समात।” मोशा सर्प नजिक पुगे अनि त्यसको पुच्छरमा समाते। जब मोशाले सर्पलाई समाते त्यो फेरि लहुरो नै भइहाल्यो। तब परमप्रभुले मोशालाई भन्नु भयो, “आफ्नो लहुरो तिमीले यसरी नै प्रयोग गर, अनि मानिसहरूले विश्वास गर्नेछन् परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूको परमेश्वर, अब्राहामको परमेश्वर, इसहाकका परमेश्वर अनि याकूबका परमेश्वर तिम्रोअधि प्रकट हुनु भएको थियो।” त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।” यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिउँ जस्तो दागै-दाग भएको पाए। तब परमेश्वरले भन्नुभयो, “अब फेरि तिम्रो हात लुगाभित्र हाल।” यसकारण मोशाले आफ्नो हात लुगाभित्र फेरि हाले मोशाले आफ्नो हात लुगाभित्र हालेर फेरि बाहिर निकाले। त्यो फेरि पहिलेकै जस्तो राम्रो भयो। तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंड्ने लहुरो प्रयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्। यी दुइ संकेतहरू देखाउँदा पनि तिनीहरूले तिमीहरूलाई आफैं विश्वास गरेनन् भने तिमीले नील नदीबाट केही पानी ल्याऊ। त्यो पानी भूईंमा खन्याऊ, यसले भूईं छुने वित्तिकै त्यो रगतमा परिवर्त्तन हुनेछ।”
प्रस्थान 4:1-9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले जवाफ दिए, “यदि तिनीहरूले मलाई विश्वास गरेनन् अथवा मेरा कुरा सुनेनन् र ‘याहवेह तिमीसित देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने के गर्ने?” तब याहवेहले तिनलाई भन्नुभयो, “तेरो हातमा भएको त्यो के हो?” तिनले भने, “एउटा लहुरो।” याहवेहले भन्नुभयो, “त्यसलाई भुइँमा फाल्।” मोशाले त्यसलाई भुइँमा फाले, र त्यो एउटा सर्प भयो, र मोशा डराएर भागे। तब याहवेहले तिनलाई भन्नुभयो, “आफ्नो हात पसारेर त्यसको पुच्छरमा समात्।” यसकारण मोशाले हात पसारेर त्यस सर्पलाई समाते, र त्यो तिनको हातमा पहिलेझैँ लहुरो भइगयो। याहवेहले भन्नुभयो, “यो याहवेह तिनीहरूका पितापुर्खाका परमेश्वर—अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर तिमीकहाँ देखा पर्नुभएको हो भनी तिनीहरूले विश्वास गरून् भनेर हो।” तब याहवेहले भन्नुभयो, “तेरो हात तेरो वस्त्रभित्र हाल्।” यसकारण मोशाले आफ्नो हात आफ्नो वस्त्रभित्र हाले; अनि जब तिनले त्यसलाई बाहिर निकाले, तब त्यसमा कुष्ठरोग लागेर हिउँझैँ सेतो भयो। उहाँले भन्नुभयो, “अब त्यसलाई आफ्नो वस्त्रभित्र फेरि हाल्।” यसकारण मोशाले आफ्नो हात फेरि वस्त्रभित्र हाले, र जब तिनले त्यसलाई बाहिर निकाले, त्यो शरीरका अरू भागझैँ सद्दे भइहाल्यो। तब याहवेहले भन्नुभयो, “यदि तिनीहरूले तँलाई विश्वास गरेनन् अथवा पहिलो अद्भुत चिन्हमा ध्यान दिएनन् भने तिनीहरूले दोस्रोमा विश्वास गर्लान्। तर यदि तिनीहरूले यी दुई अलौकिक चिन्हहरूमाथि विश्वास गरेनन्, अथवा तेरो कुरा सुनेनन् भने नील नदीबाट केही पानी लिएर त्यसलाई ओबानो भूमिमा पोखाई दिनू। तैँले नदीबाट लिएको पानी सुक्खा भूमिमा रगत हुनेछ।”