प्रस्थान 37:10-24

प्रस्थान 37:10-24 NCV

बजलेलले बबुल काठको एउटा टेबुल बनाए; जसको लम्बाइ दुई क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ साढे एक क्यूबिट थियो। तब तिनले त्यसलाई निखुर सुनले मोहोरे र चारैपट्टि सुनको बिट बनाए। तिनले त्यसका चारैतिर चार औँला चौडाइ भएको घेरा बनाए; अनि घेराको सबै भागमा सुनको बिट लगाए। तिनले टेबुलको लागि सुनका चार वटा मुन्द्राहरू बनाएर ती चार कुनाहरूमा भएका खुट्टाहरूमा बाँधे। त्यो टेबुल बोक्नलाई चलाइने डण्डाहरूलाई समातिराख्न ती मुन्द्राहरू घेराका छेवैमा राखिए। तिनले टेबुल बोक्नलाई ती डण्डीहरू बबुल काठका बनाए र त्यसलाई सुनले मोहोरे। अनि तिनले टेबुलका निम्ति थालहरू, धुपौराहरू, कचौराहरू र अर्घबलि चढाउनका निम्ति यसका भाँडाहरू सबै निखुर सुनको बनाए। तिनले निखुर सुनको सामदान बनाए। त्यसका आधार र डण्डा, फूलजस्ता कचौराहरू, कोपिला र फूलहरू एउटै टुक्राबाट पिटेर बनाए। तीन वटा एकपट्टि र तीन वटा अर्कोपट्टि गरेर जम्मा सामदानका दुई छेउमा छ वटा हाँगाहरू निस्केका थिए। एउटा हाँगामा कोपिला र फूल भएको बदामको फूलजस्तै आकारका तीन वटा कचौराहरू; अर्को हाँगामा तीन वटा र यसै गरी सामदानबाट निस्केका छ वटै हाँगाहरूमा थिए। अनि सामदानमा कोपिला र कोपिला भएको बदामको फूलको आकारमा चार वटा कचौराहरू थिए। पहिलो कोपिला सामदानबाट निस्केको हाँगाको पहिलो जोडीमुनि थिए—दोस्रो कोपिला दोस्रो जोडीमुनि र तेस्रो कोपिला तेस्रो जोडीमुनि गरेर जम्मा छ वटा हाँगाहरू। ती कोपिलाहरू र हाँगाहरू सामदानसित एउटै टुक्राबाट घनले पिटेको निखुर सुनले बनिएको थियो। तिनले सात वटा दियाहरू बनाए; तिनका चिम्टा र मोसोदानी निखुर सुनका थिए। सामदान र त्यसका सरसामानहरूका निम्ति तिनले एक टालेन्ट निखुर सुन लिए।

प्रस्थान 37 पढ्नुहोस्