प्रस्‍थान 37:10-24

प्रस्‍थान 37:10-24 सरल नेपाली

बजलेलले बबुल काठको एउटा टेबिल बनाए। त्‍यो ८८ सेन्‍टिमिटर लामो, ४४ सेन्‍टिमिटर चौडा र ६६ सेन्‍टिमिटर उचाइको थियो। तिनले त्‍यसलाई निखुर सुनले मोहोरे र चारैपट्टि सुनका बिट लाइदिए। त्‍यसको चारैपट्टि ७५ मिलिमिटर चौडा घेरा लाएर सुनको बिट लाए। त्‍यसलाई बोक्‍ने चारवटा सुनका मुन्‍द्राहरू बनाए र चार कुनाका खुट्टानिर लगाए। टेबिल बोक्‍ने डन्‍डाहरू छिराउने कुण्‍डलहरूचाहिँ बिटका छेउमा लाए। ती डन्‍डाहरू तिनले बबुल काठको बनाए र सुनले मोहोरे। तिनले टेबिलको लागि पात्रहरू: थालहरू, कचौरा, कलश र मद्यबलि चढाउने बटुकाहरू निखुर सुनको बनाए। तिनले निखुर सुनको सामदान बनाए। त्‍यसको फेद र डन्‍डी पिटेको सुनले बनाए र त्‍यसलाई सिँगारी बनाएका फूल, कोपिला र पत्रहरू सामदानसित एउटै टुक्राको बनाए। एकापट्टि तीनवटा र अर्कोपट्टि तीनवटा जम्‍मा छ वटा हाँगाहरू सामदानबाट निस्‍केका थिए। हरेक हाँगामा हाडे-बदामका फूलजस्‍ता कोपिला र पत्रहरू भएका तीन-तीनवटा फूल बनाएर छ ओटै हाँगाहरू सिँगारे। सामदानको डन्‍डामा हाडे-बदामका फूलजस्‍ता कोपिला र पत्रहरू भएका चारवटा फूलहरू बनाएर सिङ्गारे। तीन जोर हाँगाहरूको हरेक जोरमुनि एक-एक वटा कोपिला बनाए। कोपिला, हाँगाहरू र सामदान सबै पिटेको सुनको एउटै टुक्राबाट बनाए। सामदानको निम्‍ति तिनले सातवटा पानसहरू बनाए। त्‍यसको चिम्‍टा र मोसोदानी निखुर सुनको बनाए। सामदान र त्‍यसका सबै सजावटका सरजामहरू बनाउनलाई तिनले ३५ किलोग्राम निखुर सुन चलाए।

प्रस्‍थान 37 पढ्नुहोस्