प्रस्थान 10:13-28

प्रस्थान 10:13-28 NCV

तब मोशाले आफ्नो लहुरो इजिप्टमाथि पसारे; अनि याहवेहले देशको चारैतिर दिनभरि र रातभरि पूर्वीय बतास चलाइदिनुभयो। तब बिहान भएपछि पूर्वीय बतासले सलहहरू ल्यायो। सलहहरूले सम्पूर्ण इजिप्टमाथि आक्रमण गरे, र देशका सबै भागहरूमा धेरै संख्यामा बसे। यसअगि कहिल्यै यति धेरै सलहहरू आएका थिएनन्, न त फेरि त्यो कहिल्यै आउनेछन्। तिनीहरूले सम्पूर्ण जमिनलाई कालो हुने गरी ढाकिदिए। तिनीहरूले असिनाले बचेका हरेक वनस्पति र रूखका सबै फलहरू खाइदिए। इजिप्टभरिका रूखहरू अथवा बोटबिरुवाहरूमा हरियो पात केही बाँकी रहेन। त्यसैले फारोले तुरुन्तै मोशा र हारूनलाई बोलाएर भने, “मैले याहवेह तिमीहरूका परमेश्‍वर र तिमीहरूका विरुद्धमा पाप गरेको छु। अब फेरि एक पल्ट मेरो पाप क्षमा गरिदेओ, र यो घातक विपत्ति मबाट हटाइदेऊन् भनी याहवेह तिमीहरूका परमेश्‍वरसित बिन्ती गरिदेओ।” तब मोशा फारोकहाँबाट निस्केर गइहाले र याहवेहलाई बिन्ती चढाए। अनि याहवेहले बतासलाई ठूलो पश्‍चिमी बतासमा परिणत गरिदिनुभयो, जसले सलहहरूलाई उडाएर लाल समुद्रमा फालिदियो। त्यसपछि इजिप्टमा एउटै सलह पनि रहेन। तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; र तिनले इस्राएलीहरूलाई जान दिएनन्। तब याहवेहले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्टमाथि अँध्यारो भइजाओस्—छाम्दा पनि थाहा पाउनेजस्तो अन्धकार।” यसकारण मोशाले आफ्नो हात आकाशतिर पसारे, र इजिप्टभरि तीन दिनसम्म घनघोर अन्धकार भयो। तीन दिनसम्म कसैले एक-अर्कालाई देख्न सकेनन्, र आफ्नो ठाउँ छोड्न सकेनन्। तरै पनि इस्राएलीहरूका निम्ति त तिनीहरू बसेको ठाउँहरूमा उज्यालो रह्‍यो। तब फारोले मोशालाई बोलाएर भने, “जाऊ, याहवेहको आराधना गर। तिमीहरूका स्त्रीहरू र छोराछोरीहरू पनि तिमीहरूसित जाऊन्; केवल तिमीहरूका बगाल र बथान मात्र यहाँ रहून्।” तर मोशाले भने, “तपाईंले हामीलाई याहवेह हाम्रा परमेश्‍वरका निम्ति बलिदान र होमबलि चढाउन दिनुपर्छ। हाम्रा गाईबस्तुहरू पनि हामीसित जानेछन्, र एउटै खुर समेत छोडिनेछैन; किनकि हामीले तीमध्ये कुनै-कुनै बस्तुभाउ हाम्रा याहवेह परमेश्‍वरलाई चढाउनुपर्छ; जबसम्म हामी त्यहाँ पुग्दैनौँ, तबसम्म हामीले याहवेहलाई के-के चढाएर आराधना गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।” तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; अनि उनले तिनीहरूलाई जान दिएनन्। फारोले मोशालाई भने, “यहाँबाट गईहाल! अब फेरि मेरो सामु तिमी देखा पर्दै नपर! तिमीले मेरो अनुहार देखेको त्यही दिन तिमी मर्नेछौ।”

प्रस्थान 10 पढ्नुहोस्