प्रस्थान 10:13-28
प्रस्थान 10:13-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मोशाले आफ्नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्याएको थियो। अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्। तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन। तब फारोले मोशा र हारूनलाई झट्टै बोलाउन पठाए, र उनले भने, “मैले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा र तिमीहरूका विरुद्धमा पाप गरें। यसकारण अब म बिन्ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्ना परमेश्वरसँग बिन्ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।” तब मोशा फारोकहाँबाट निस्केर गए, र परमप्रभुलाई बिन्ती गरे। अनि परमप्रभुले अति ठूलो पश्चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्यो, र मिश्रभित्र एउटै पनि सलह रहेन। तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्। फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र मिश्रमा अँध्यारो भइजाओस्। छाम्दा थाहा पाउनेजस्तो अन्धकार होस्।” अनि मोशाले आफ्नो हात आकाशतिर पसारे, र सारा मिश्रमा तीन दिनसम्म निस्पट्ट अन्धकार भयो। तीन दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्यालै रह्यो। तब फारोले मोशालाई बोलाउन पठाए, र भने, “जाओ, तिमीहरू आफ्ना परमप्रभुको आराधना गर। केवल तिमीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरू छोड़िराख। तिमीहरूका आइमाई र बालबच्चाहरू पनि तिमीहरूसँगै जाऊन्।” तर मोशाले भने, “परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलि गर्नलाई तपाईंले हाम्रा हातमा बलिका सामग्री र होमबलि लिन पनि दिनुपर्छ। हाम्रा गाईबस्तुहरू पनि हामीसँगै जानेछन्, र एउटा खुर पनि पछि छोड़िनु हुन्न। तिनीहरूमध्येकै कुनै-कुनै हामीले परमप्रभु आफ्ना परमेश्वरलाई पुज्नलाई चढ़ाउनुपर्नेछ। जबसम्म हामी त्यहाँ पुग्दैनौं तबसम्म हामीलाई थाहा हुँदैन कि के-के चढ़ाएर हामीले परमप्रभुलाई पुज्नुपर्छ।” तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनीहरूलाई जान दिन उनी राजी थिएनन्। तब फारोले मोशालाई भने, “मेरो सामुन्नेबाट गइहाल्। होशियार बस्, मेरो सामुन्ने फेरि देखा नपर्, किनभने जुन दिन तैंले मेरो मुख हेर्लास् त्यो दिन तँ मर्नेछस्।”
प्रस्थान 10:13-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशाले आफ्नो लहुरो इजिप्टमाथि पसारे; अनि याहवेहले देशको चारैतिर दिनभरि र रातभरि पूर्वीय बतास चलाइदिनुभयो। तब बिहान भएपछि पूर्वीय बतासले सलहहरू ल्यायो। सलहहरूले सम्पूर्ण इजिप्टमाथि आक्रमण गरे, र देशका सबै भागहरूमा धेरै संख्यामा बसे। यसअगि कहिल्यै यति धेरै सलहहरू आएका थिएनन्, न त फेरि त्यो कहिल्यै आउनेछन्। तिनीहरूले सम्पूर्ण जमिनलाई कालो हुने गरी ढाकिदिए। तिनीहरूले असिनाले बचेका हरेक वनस्पति र रूखका सबै फलहरू खाइदिए। इजिप्टभरिका रूखहरू अथवा बोटबिरुवाहरूमा हरियो पात केही बाँकी रहेन। त्यसैले फारोले तुरुन्तै मोशा र हारूनलाई बोलाएर भने, “मैले याहवेह तिमीहरूका परमेश्वर र तिमीहरूका विरुद्धमा पाप गरेको छु। अब फेरि एक पल्ट मेरो पाप क्षमा गरिदेओ, र यो घातक विपत्ति मबाट हटाइदेऊन् भनी याहवेह तिमीहरूका परमेश्वरसित बिन्ती गरिदेओ।” तब मोशा फारोकहाँबाट निस्केर गइहाले र याहवेहलाई बिन्ती चढाए। अनि याहवेहले बतासलाई ठूलो पश्चिमी बतासमा परिणत गरिदिनुभयो, जसले सलहहरूलाई उडाएर लाल समुद्रमा फालिदियो। त्यसपछि इजिप्टमा एउटै सलह पनि रहेन। तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; र तिनले इस्राएलीहरूलाई जान दिएनन्। तब याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्टमाथि अँध्यारो भइजाओस्—छाम्दा पनि थाहा पाउनेजस्तो अन्धकार।” यसकारण मोशाले आफ्नो हात आकाशतिर पसारे, र इजिप्टभरि तीन दिनसम्म घनघोर अन्धकार भयो। तीन दिनसम्म कसैले एक-अर्कालाई देख्न सकेनन्, र आफ्नो ठाउँ छोड्न सकेनन्। तरै पनि इस्राएलीहरूका निम्ति त तिनीहरू बसेको ठाउँहरूमा उज्यालो रह्यो। तब फारोले मोशालाई बोलाएर भने, “जाऊ, याहवेहको आराधना गर। तिमीहरूका स्त्रीहरू र छोराछोरीहरू पनि तिमीहरूसित जाऊन्; केवल तिमीहरूका बगाल र बथान मात्र यहाँ रहून्।” तर मोशाले भने, “तपाईंले हामीलाई याहवेह हाम्रा परमेश्वरका निम्ति बलिदान र होमबलि चढाउन दिनुपर्छ। हाम्रा गाईबस्तुहरू पनि हामीसित जानेछन्, र एउटै खुर समेत छोडिनेछैन; किनकि हामीले तीमध्ये कुनै-कुनै बस्तुभाउ हाम्रा याहवेह परमेश्वरलाई चढाउनुपर्छ; जबसम्म हामी त्यहाँ पुग्दैनौँ, तबसम्म हामीले याहवेहलाई के-के चढाएर आराधना गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।” तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; अनि उनले तिनीहरूलाई जान दिएनन्। फारोले मोशालाई भने, “यहाँबाट गईहाल! अब फेरि मेरो सामु तिमी देखा पर्दै नपर! तिमीले मेरो अनुहार देखेको त्यही दिन तिमी मर्नेछौ।”
प्रस्थान 10:13-28 पवित्र बाइबल (NERV)
यसकारण मोशाले आफ्नो टेक्ने लाठ्ठी मिश्र देशमाथि उठाए अनि परमप्रभुले पूर्वबाट आँधी बेरी पठाउनु भयो। हावा बिहान बेलुका पूरै चलिरहयो। जब बिहान भयो मिश्र भूमिमा हावाले सलह ल्यायो। सलहहरू मिश्र देशमा उडेर आए अनि जमीनमा बसे। सलह मिश्रदेशमा यति विध्न आए कि यति विध्न न विगतमा कहिल्यै देखिएका थिए न भविष्यमा नै देखिनेछन्। ती सलहहरूले सबै भूमि ढाके अनि मैदान नै छोपे। असिनाले ध्वंश नपारेको जम्मै फलहरू र उद्भिदहरू सलहले खाए। फिरऊनले मोशा र हारूनलाई झट्टै बोलायो फिरऊनले भन्यो, “मैले परमप्रभु तिमीहरूका परमेश्वर र तिमीहरूका विरोधमा पाप गरेको छु। अब यस पल्टको निम्ति मेरो पाप क्षमा गरिदेऊ। परमप्रभुलाई ममाथि आइलागेको यो ‘मृत्यु’ (सलहहरू) हटाई दिनु भनी भन।” मोशाले फिरऊनबाट विदा लिएर परमप्रभुलाई प्रार्थना गरे। यसर्थ परमप्रभुले हावाको दिशा फर्काएर पश्चिम तिर गर्नु भयो र यसले सलहहरूलाई मिश्रबाट उडायो अनि निगालोको समुद्रमा पुर्यायो। एउटै पनि सलह मिश्रमा रहेनन्। तर फेरि परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइदिनु भयो यसकारण उसले इस्राएली मानिसहरूलाई जान दिएन। तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट्ट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।” मोशाले आफ्नो हात उठायो अनि अन्धकारले मिश्रलाई ढाक्यो। त्यो अँध्यारो मिश्रमा तीन दिनसम्म रह्यो। त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन। फेरि फिरऊनले मोशालाई बोलाए। फिरऊनले भने, “जाऊ अनि परमप्रभुको आराधना गर। आफ्नो छोरा-छोरीहरूसँगै लान सक्छौ, तर तिमीले भेंडा र गाई-वस्तुहरू यहीं छोडेर जानु पर्छ।” मोशाले भने, “तपाईंले हामीलाई परमप्रभु हाम्रो परमेश्वरलाई बलिदानहरू अनि होमबलिहरू चढाउनु जानु दिनुपर्छ। जब हामी परमप्रभुलाई आराधना गर्न जान्छौ। हामीले हाम्रा पशुहरू पनि लाने छौं। एउटै पनि भाग छाड्ने छैनौं। परमप्रभुको आराधनामा के कुराहरूको आवश्यक पर्छ, त्यो हामी पनि जान्दैनौं। हामीले आफ्नो आवश्यकता त्यस समयमा मात्र बुझ्नेछौं जति बेला हामी हाम्रो गन्तब्य स्थानमा पुग्छौं।” परमप्रभुले फेरि फिरऊनलाई अट्टेरी बनाउनु भयो। यसर्थ तिनीहरूलाई जानु दिनुमा फिरऊनले फेरि पनि अस्वीकार गरे। तब फिरऊनले मोशालाई भने, “जाऊ, यहाँबाट। तिमी फेरि कहिलै आउनु पर्दैन यदि तिमी मलाई हेर्न आयौ भने, मर्नेछौ।”
प्रस्थान 10:13-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशाले आफ्नो लौरो उचाले र परमप्रभुले त्यस दिन र रातभरि मिश्रदेशमा पूर्वबाट बतास ल्याउनुभयो। भोलिपल्ट बिहान त्यो बतासले सलहहरू ल्यायो। ती हुलका हुल आए र सारा देशभरि बसे। त्यति धेरै सलहहरू न त अघि आएका थिए न पछि नै आउनेछन्। तिनीहरूले ढाकिएर सारा जमिन कालै भयो। असिनाबाट बाँचेका सबै थोक, रूखको फलहरूसमेत तिनीहरूले खाए। मिश्रदेशमा भएका रूखको हरियो-परियो र सागपात केही रहेन। तब राजाले हतार-हतार मोशा र हारूनलाई बोलाएर भने, “मैले तिमीहरूका परमप्रभु परमेश्वर र तिम्रा विरुद्धमा पाप गरें। एकपल्टको लागि मेरा पाप क्षमा गर र त्यो मृत्यु बराबरको दण्ड मबाट हटाइलैजान आफ्ना परमेश्वर परमप्रभुसित प्रार्थना गरिदेओ।” मोशाले राजाबाट बिदा लिए र परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले पूर्वबाट आएको बतासलाई शक्तिशाली पश्चिमी बतासमा परिवर्तन गर्नुभयो र त्यो बतासले सलहहरूलाई उडाएर लाल समुद्रमा हालिदियो। मिश्रमा एउटै सलह पनि रहेन। तर परमप्रभुले राजाको मन कठोर पारिदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्। तब परमप्रभुले मोशालाई भन्नुभयो, “आफ्नो हात आकाशतिर पसार् र मिश्रदेशमा बाक्लो निष्पट्ट अन्धकार हुनेछ।” मोशाले हात आकाशतिर पसारे र मिश्रभरि नै तीन दिनसम्म निष्पट्ट अँध्यारो भयो। मिश्रीहरूले एक-अर्कालाई देख्न सकेनन् र तीन दिनसम्मै कसैले आफ्नो घर छोडेनन्। तर इस्राएलीहरू बसेका ठाउँमा भने उज्यालै थियो। राजाले मोशालाई बोलाएर भने, “तिमीहरू गएर आफ्ना परमप्रभुलाई पुज, तिम्रा आइमाई, बालबच्चाहरू पनि जाऊन्। तर तिम्रा भेडा-बाख्रा र गाई-गोरु यहीँ छोडिराख।” मोशाले जवाफ दिए, “त्यसो भए हाम्रा परमेश्वर परमप्रभुलाई बलि गर्न, होमबलि चढाउन तपाईंले पशुहरू लैजान दिनैपर्छ। हाम्रा आफ्ना पशुहरू लैजानेछौं, एउटै पनि छोड्नेछैनौं। हाम्रा परमेश्वर परमप्रभुलाई चढाउनुपर्ने पशुहरू हामी आफैंले रोज्नुपर्छ। अनि त्यस ठाउँमा नपुगेसम्म कुन-कुन पशुहरू बलि गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।” परमप्रभुले राजाको हृदय कठोर पार्नुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्। तिनले मोशालाई भने, “मेरो नजरबाट निस्की! मलाई तेरो अनुहार फेरि नदेखा! जुन दिन तँ मेरो सामुन्ने देखा पर्छस् त्यही दिन तँ मर्नेछस्!”