एफिसी 5
5
1यसकारण तिमीहरू प्रिय बालबालिकाहरूजस्ता परमेश्वरको अनुकरण गर्नेहरू होओ; 2अनि प्रेमको मार्गमा हिँड, जसरी ख्रीष्टले हामीहरूलाई प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो।
3तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता, अशुद्धता वा लोभको नामसम्म नलिइओस्; किनकि परमेश्वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित हुँदैनन्। 4अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर्नू; यो ठिक छैन, बरु परमेश्वरलाई नै धन्यवाद चढाइयोस्। 5किनकि तिमीहरू यो निश्चित जान, कुनै व्यभिचारी, अशुद्ध व्यक्ति वा लोभी, यस्तो व्यक्ति मूर्तिपूजक हो; ख्रीष्ट र परमेश्वरको राज्यको हकदार हुन सक्दैन। 6कसैले तिमीहरूलाई खोक्रो कुराहरूले धोका नदेओस्; किनकि यी कुराहरूकै कारण अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध आउँदछ। 7यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ!
8किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले तिमीहरू प्रभुमा ज्योति हौ। त्यसैले ज्योतिका सन्तानझैँ हिँड। 9किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ; 10अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज। 11अन्धकारका निष्फल कार्यहरूमा सहभागी नहोओ, बरु तिनीहरूलाई प्रकट गरिदेओ। 12अनाज्ञाकारीहरूले गुप्तमा जे गर्छन्, त्यो भन्नु पनि लज्जास्पद कुरा हो। 13तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ। 14त्यसकारण यस्तो भनिएको छ:
“हे निदाउनेहरू, जाग र
मरेकाहरूबाट बिउँझ;
अनि ख्रीष्ट तिमीहरूमा चम्कनुहुनेछ।”
15यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होओ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो होओ। 16सबै समयको पूरा सदुपयोग गर; किनकि दिनहरू खराब छन्। 17यसकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के हो, सो बुझ। 18दाखमद्यले नमात्तिओ, यसले जीवन बरबाद गर्छ; बरु पवित्र आत्माले भरपूर#5:18 यसको अर्थ नियन्त्रित हुन्छ। होओ। 19भजन, स्तुतिगान र आत्मिकी गीतहरूद्वारा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल। 20हाम्रा प्रभु येशू ख्रीष्टको नाममा परमेश्वर पितालाई सधैँ सबै कुराको निम्ति धन्यवाद चढाओ।
पति-पत्नीहरूलाई निर्देशन
21ख्रीष्टप्रतिको श्रद्धाको कारणले आफूलाई एक-अर्काको अधीनमा सुम्प।
22हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिहरूका अधीनमा बस। 23किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ; जसको निम्ति उहाँ मुक्तिदाता हुनुहुन्छ। 24जसरी मण्डली ख्रीष्टको अधीनमा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूका अधीनमा रहून्।
25हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो; 26कि उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकून्, 27र प्रतापी मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु प्रस्तुत गराऊन्, जसमा कुनै दाग वा चाउरी वा यस्तै अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्। 28यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैँ प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैँलाई प्रेम गर्दछ। 29कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्टले मण्डलीलाई गर्नुहुन्छ। 30किनकि हामी उहाँका शरीरका अङ्गहरू हौँ। 31“यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्।”#5:31 उत्प 2:24 32यो एक अति गहन रहस्य हो, तर मैले ख्रीष्ट र मण्डलीबारे कुरा गरिरहेको छु। 33हरेकले आफ्नी पत्नीलाई आफैँलाई झैँ प्रेम गरोस्, र पत्नीले आफ्ना पतिको आदर गरोस्।
अहिले सेलेक्ट गरिएको:
एफिसी 5: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.