दानिएल 6:6-23
दानिएल 6:6-23 NCV
यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्! राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्। अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।” यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले। अनि जब त्यो उर्दी प्रकाशित भएको कुरा दानिएलले थाहा पाए, तब तिनी आफ्ना घरभित्र गए; अनि माथिल्लो कोठामा पसे, जहाँ यरूशलेमतिर फर्किएका झ्यालहरू थिए। तिनले सधैँ गरेझैँ दिनमा तीन पल्ट घुँडा टेकी परमेश्वरलाई धन्यवाद दिँदै प्रार्थना गरे। तब ती मानिसहरू समूह बाँधेर गए, र दानिएललाई प्रार्थना गरिरहेका र परमेश्वरसित सहायता मागिरहेका भेट्टाए। यसकारण तिनीहरू राजाकहाँ गए, र तिनीसित तिनको राजकीय उर्दीको बारेमा कुरा गरे: “हे महाराजा, के तपाईंले आउँदा तीस दिनहरूमा तपाईंबाहेक अरू कुनै देवता, अथवा मानिसलाई प्रार्थना गर्ने जोसुकै पनि सिंहको खोरमा फ्याँकिनेछ भनेर एउटा उर्दी निकाल्नुभएको होइन र?” राजाले जवाफ दिए, “मादीहरू र परसीयनहरूको विधि-विधानअनुसार त्यो उर्दी पक्का छ—जुन कहिल्यै रद्द हुन सक्दैन।” तब तिनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देश निष्कासित भएकाहरूमध्ये एक जना दानिएलले हजुरप्रति, अथवा हजुरले लिखित रूपमा निकाल्नुभएको उर्दी पालन गरेको छैन। त्यसले अझै पनि दिनमा तीन पल्ट प्रार्थना गर्छ।” जब राजाले यो कुरा सुने, तिनी अति दुःखित भए; दानिएललाई छुटाउने सङ्कल्प गरेर सूर्यास्त नभएसम्म तिनलाई बचाउने हर किसिमको प्रयास गरिरहे। तब ती मानिसहरू एक समूह भएर राजाकहाँ गएर भने, “हे महाराजा, याद होस्, कि मादीहरू र परसीयनहरूका विधि-विधानअनुसार राजाले जारी गरेको कुनै पनि उर्दी अथवा आदेश बदली हुन सक्दैन।” यसकारण राजाले हुकुम दिए, र तिनीहरूले दानिएललाई ल्याए; अनि तिनलाई सिंहको खोरभित्र फालिदिए। अनि राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले नै तिमीलाई बचाऊन्।” अनि एउटा ढुङ्गा ल्याइयो र सिंहको खोरको मुखमा राखियो; तब राजाले आफ्नो औँठीको छाप र उनका भारदारहरूका औँठीहरूका छाप लगाए, ताकि दानिएलको अवस्था परिवर्तन नहोस्। त्यसपछि राजा आफ्नो राजमहलमा फर्के, र केही नखाईकन र तिनीकहाँ ल्याइएका कुनै पनि मनोरञ्जनहरूमा रमाइलो नगरी रात बिताए। तिनी रातभरि नै सुत्न सकेनन्। बिहानको झिसमिसे उज्यालोमै राजा उठे, र हतार-हतार गरेर सिंहको खोरमा गए। जब तिनी खोरको नजिक आए, तब तिनले शोकले भरिएको सोरमा दानिएललाई बोलाए, “हे जीवित परमेश्वरका सेवक दानिएल, तिमीले लगातार सेवा गर्दैआएका तिम्रा परमेश्वरले के तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?” दानिएलले जवाफ दिए, “महाराजा, अमर रहून्! मेरा परमेश्वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्याएका छैनन्; किनकि म उहाँको दृष्टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।” राजाले अति आनन्दित भएर दानिएललाई सिंहको खोरबाट माथि तानेर निकाल्ने हुकुम दिए। अनि जब दानिएल खोरबाट बाहिर निकालिए, तिनका शरीरमा कुनै पनि चोट पाइएन; किनकि तिनले आफ्नो परमेश्वरमाथि भरोसा राखेका थिए।

