प्रेरित 2:14-28
प्रेरित 2:14-28 NCV
तब पत्रुस एघार जनासँग उभिए। अनि उच्च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्नुहोस्। तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ! तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरा नै हो: “ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्; तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्। ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। अनि तिनीहरूले अगमवाणी बोल्नेछन्। अनि माथि आकाशमा अद्भुत कार्यहरू देखाउनेछु, र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु, रगत, आगो र धुवाँका मुस्लाहरू। प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ। अनि प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’ “हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्नुभएकै कुरा हो। यी कामहरू परमेश्वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो। आफ्नो निश्चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो। दावीदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ। यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ; किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’

