प्रेरित 2:14-28 - Compare All Versions

प्रेरित 2:14-28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्‍च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्‍मै बासिन्‍दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्‍नुहोस्‌। किनभने तपाईंहरूले ठान्‍नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ। तर योएल अगमवक्ताद्वारा भनिएको कुरा यही हो, ‘आखिरी दिनहरूमा यस्‍तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्‍छ, म सबै मानिसहरूमाथि मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्‍नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन्‌। हो, म आफ्‍ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्‍नेछन्‌। माथि आकाशमा म अचम्‍मका काम र तल पृथ्‍वीमा चिन्‍हहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो, र धूवाँको मुस्‍लो। परमप्रभुको महान्‌ र गौरवमय दिन आउन अगाडि सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌। अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्‍यसले उद्धार पाउनेछ।’ “इस्राएलका मानिस हो, यी कुरा सुन्‍नुहोस्, नासरतका येशू यस्‍ता व्‍यक्ति हुनुहुन्‍थ्‍यो, जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, अचम्‍मका कामहरू र चिन्‍हहरूद्वारा तपाईंहरूका सामुन्‍ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्‍वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो। परमेश्‍वरले ठहराउनुभएको निश्‍चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। उहाँलाई परमेश्‍वरले मृत्‍युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्‍युको अधीनमा उहाँ भइरहनु असम्‍भव थियो, किनकि दाऊदले उहाँको विषयमा भन्‍दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्‍छ। यसकारण मेरो हृदय आनन्‍दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ। किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्‍नो उपस्‍थितिद्वारा आनन्‍दले गद्‌गद्‌ पार्नुहुनेछ।’

शेयर गर्नुहोस्
प्रेरित 2 NNRV

प्रेरित 2:14-28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब पत्रुस एघार जनासँग उभिए। अनि उच्‍च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्‍नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्‍नुहोस्। तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ! तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरा नै हो: “ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्छ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्; तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्। ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। अनि तिनीहरूले अगमवाणी बोल्नेछन्। अनि माथि आकाशमा अद्‌भुत कार्यहरू देखाउनेछु, र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु, रगत, आगो र धुवाँका मुस्लाहरू। प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ। अनि प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’ “हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्‍वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्‍नुभएकै कुरा हो। यी कामहरू परमेश्‍वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो। आफ्नो निश्‍चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्‍वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो। दावीदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ। यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ; किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’

शेयर गर्नुहोस्
प्रेरित 2 NCV

प्रेरित 2:14-28 NERV (पवित्र बाइबल)

त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसँग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यू-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु। यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ। आज यहाँ भइरहेका कुरा अगमवक्ता योएलले भनेका छन्: ‘परमेश्वर भन्नुहुन्छः अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु। तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्। तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्। तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्। त्यसबेला, म मेरो सेवकहरू, पुरुष र स्त्रीहरूमाथि, मेरो आत्मा खन्याउनेछु, अनि तिनीहरूले अगमवाणी गर्नेछन्। म छक्कपर्दो चीजहरूमाथि आकाशमा देखाउनेछु, तल पृथ्वीमा, म प्रमाणहरू दिनेछु। त्यहाँ रगत, आगो, र घना धूँवा हुनेछ। घाम अन्धकारमय भई बद्लिने छ, अनि जुन रगत सरह रक्तिम हुनेछ। तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ। अनि हरेक मानिस ज-जसले परमप्रभुमाथि विश्वास गर्नेछ बचाइनेछ।’ “मेरो यहूदी दाज्यू-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ। येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घट्ना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो। येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो। दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः ‘सधैँ मैले प्रभुलाई मेरो सम्मुख देखें, मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ। यसैले मेरो हृदय आनन्दित छ, र मेरो मुख आनन्दसित बोल्दछ। हो, मेरो शरीले पनि आशामा भरोसा गर्नेछ, किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन। तपाईंले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन। तिमीहरूले मलाई कसरी बाँच्न सिकायौ, तिमीहरू मेरो छेउमा आउनेछौ अनि मलाई आनन्दले भरिदिनेछौ।’

शेयर गर्नुहोस्
प्रेरित 2 NERV

प्रेरित 2:14-28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तब पत्रुस र अरू एघार प्रेरितहरू सँगै उभिए र पत्रुसले सबैले सुन्‍ने गरी भन्‍न लागे, “हे यहूदी साथी र यरूशलेममा बस्‍ने दाजुभाइहरू हो, यहाँ के भएको हो, त्‍यो म तपाईंहरूलाई बुझाउनेछु। अब मैले भन्‍न लागेका कुराहरू ध्‍यान दिएर सुन्‍नुहोस्। तपाईंहरूले सोचेजस्‍तो यिनीहरू मातेका होइनन्। अहिले त नौ मात्रै बज्‍दैछ। तर यही कुरा हुनेछ भनेर योएल अगमवक्ताले धर्मशास्‍त्रमा यसरी लेखेका थिए– हे यहूदी साथीहरू, ध्‍यान दिएर सुन्‍नुहोस्। परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘आखिरी दिनहरूमा म सबै मानिसहरूमाथि मेरो आत्‍मा खन्‍याउनेछु अनि तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी बोल्‍नेछन्, युवाहरूले दर्शन देख्‍नेछन् र बुढापाकाहरूले चाहिँ सपना देख्‍नेछन्। अँ, ती दिनमा म मेरा सेवा गर्ने पुरुष र स्‍त्रीहरूमाथि आफ्‍नो आत्‍मा खन्‍याउनेछु अनि तिनीहरूले अगमवाणी बोल्‍नेछन्। माथि आकाश मण्‍डलमा म अचम्‍मका चिन्‍हहरू देखाउनेछु र तल पृथ्‍वीमा अचम्‍मका कामहरू गर्नेछु। रगत, आगो र धुवाँका बादल देखापर्नेछन्। प्रभुको त्‍यो महान् उज्‍यालो दिन आउनुभन्दा अगाडि सूर्य अँध्‍यारो भइजानेछ र चन्‍द्र रगतजस्‍तो रातो हुनेछ। तर त्‍यस बेला प्रभुको नाउँ लिनेहरू जतिले चाहिँ उद्धार पाउनेछन्’। “इस्राएली दाजुभाइहरू हो, मेरा कुरा सुन्‍नुहोस्। परमेश्‍वरले येशूद्वारा तपाईंहरूको बीचमा शक्तिशाली कामहरू गर्दै अचम्‍म-अचम्‍मका चिन्‍हहरू देखाउनुभएको त तपाईंहरूलाई थाहै छ। ती चिन्‍हहरूबाट परमेश्‍वरले नासरतका येशूलाई आफूले नै पठाएको हुँ भन्‍ने प्रमाण दिनुभयो। परमेश्‍वरले आफ्‍नो योजना र ज्ञानअनुसार येशूलाई तपाईंहरूको हातमा सुम्‍पिदिनुभयो र तपाईंहरूले उहाँलाई दुष्‍ट मानिसहरूको हातमा सुम्‍पेर क्रूसमा मार्नसमेत लगाउनुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। परमेश्‍वरले उहाँलाई मृत्‍युको शक्तिबाट छुटाउनुभएको छ किनभने उहाँ मृत्‍युको अधीनमा भइरहनु असम्भव थियो। दाऊद राजाले पनि उहाँको बारेमा यसरी भनेका थिए– मैले प्रभुलाई सधैँ मेरो सामुन्‍ने देखिरहेको छु। उहाँ मलाई सुरक्षा दिँदै मेरो साथमा रहनुहुन्‍छ र म डराउनुपर्दैनँ। त्‍यसैले म हृदयदेखि नै खुसी छु र खुसीको गीत गाइरहन्‍छु। मरेर जानुपरे पनि म आशामा बाँचेर जिउँदछु किनभने तपाईंले मलाई पातालमा छोड्‍नुहुन्‍न, तपाईंले आफ्‍नो पवित्र जनलाई मरेको मरेकै र कुहिएर नाश हुन दिनुहुन्‍न। तपाईंले मलाई जीवनको बाटो देखाउनुभएको छ। तपाईंसँग हुँदा म खुसीले रमाउँछु।

शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपाली