1 कोरिन्थी 8
8
मूर्तिहरूलाई चढाइएका चीजहरू
1अब मूर्तिहरूलाई चढाइएका खानेकुराको विषयमा: हामी जान्दछौँ, “हामी सबैसित ज्ञान छ।” ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले चाहिँ उन्नति गराउँछ। 2यदि कसैले केही जान्दछु भनी ठान्दछ भने वास्तवमा उसले जान्नुपर्ने जति अझै जानेको हुँदैन। 3तर जो व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ, त्यो परमेश्वरद्वारा चिनिएको हुन्छ।
4यसकारण मूर्तिहरूलाई चढाएको खानेकुराको विषयमा हेरौँ: हामी जान्दछौ कि “यस संसारमा मूर्तिहरू केही पनि होइनन्” र “एकबाहेक अरू कोही परमेश्वर छैन।” 5तर पनि आकाश वा पृथ्वीमा धेरै देवता भनिनेहरू छन्; साँच्चै धेरै “देवताहरू” र धेरै “प्रभुहरू” छन्, 6तर हाम्रा निम्ति परमेश्वर पिता एउटै हुनुहुन्छ, जसद्वारा सबै थोकहरू अस्तित्वमा आएका छन्, र जसको निम्ति हामी जिउँछौ; र एउटै प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट, जसद्वारा सबै कुराहरू सृष्टि भएका हुन्, र जसद्वारा हामी जिउँछौँ।
7तर सबैलाई यो ज्ञान छैन। केही मानिसहरूलाई मूर्तिहरूमा यतिसम्म बानी बसेको हुन्छ, कि जब तिनीहरूले मूर्तिलाई बलि चढाएको भोजन खान्छन्, तब तिनीहरूले देवतालाई चढाएको चीज सम्झी खान्छन्। तिनीहरूको विवेक दुर्बल भएको कारणले अशुद्ध हुन्छ। 8तर भोजनले हामीलाई परमेश्वरको नजिक ल्याउँदैन। त्यो नखाँदैमा कुनै हानि छैन, र खाँदैमा पनि कुनै लाभ छैन।
9तर होसियार रहो, नत्रता तिमीहरूको यो स्वतन्त्रता कमजोर विवेक हुनेहरूलाई ठेसको कारण बन्न जाला। 10किनकि यदि कमजोर विवेक भएको व्यक्तिले तिमीहरू ज्ञान भएकाहरूलाई मूर्तिहरू भएको मन्दिरमा खाँदैगरेको देख्यो भने के त्यसले पनि मूर्तिलाई चढाएको कुरा खान साहस गर्दैन र? 11यसकारण तिमीहरूको ज्ञानको कारण त्यो कमजोर दाजुभाइ वा दिदीबहिनीहरू नष्ट नहोस्, जसका निम्ति ख्रीष्ट मर्नुभयो। 12जब तिमीहरू उनीहरूका विरुद्धमा यसरी पाप गर्दछौ; उनीहरूका कमजोर विवेकलाई चोट पार्दछौ, तब तिमीहरूले ख्रीष्टको विरुद्धमा पाप गर्दछौ। 13यसकारण यदि म जे खान्छु, त्यसले मेरो दाजुभाइ वा दिदीबहिनीहरूलाई पाप गर्न लगाउँछ भने म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म तिनीहरूको पतन हुने कारण नबनूँ।
अहिले सेलेक्ट गरिएको:
1 कोरिन्थी 8: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.