1 कोरिन्थी 7
7
वैवाहिक जीवन सम्बन्धी
1अब यी कुराहरू तिमीहरूले लेखेको विषयमा छ: “पुरुषले स्त्रीलाई स्पर्श नगरेकै असल हो।” 2तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस्, र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्। 3पतिले आफ्नो पत्नीसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। यसरी नै पत्नीले पनि पतिसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। 4पत्नीको आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पतिको अधिकारमा हुन्छ। यसरी नै पतिको पनि आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको अधिकारमा हुन्छ। 5पति-पत्नीले आफ्नो यौन सम्बन्धमा एक-अर्कालाई इन्कार नगर। तर पारस्परिक सहमतिअनुसार र केही समय प्रार्थनाको लागि बाहेक अलग नहोओ; ताकि तिमीहरू प्रार्थनाको लागि समर्पित हुन सक। त्यसपछि फेरि तिमीहरू एकसाथ होओ; ताकि तिमीहरूका आत्मसंयमको अभावको कारण शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्। 6म यो तिमीहरूलाई आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दैछु। 7तिमीहरू सबै जना मजस्तै रहेको म चाहन्छु; तर परमेश्वरबाट तिमी हरेकले आफ्नै प्रकारको वरदान पाएका छौ; एउटासँग एक प्रकारको वरदान छ भने अर्कोसँग अर्कै प्रकारको वरदान छ।
8अब अविवाहित र विधवाहरूलाई म यो भन्न चाहन्छु: तिनीहरूले मजस्तै विवाह नगरी बसेको असल हुन्छ। 9तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्; किनकि कामवासनामा जल्नुभन्दा त विवाह गर्नु असल हुन्छ।
10विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्। 11तर यदि अलग बस्न चाहन्छिन् भने विवाह नगरी बसोस्; नत्रता फेरि पतिसँग मिलाप गरेर बसोस्। अनि पतिले पनि आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
12अरू बाँकी रहेकाहरूलाई म यो भन्न चाहन्छु; प्रभुबाट होइन, तर म आफैँबाट: यदि ख्रीष्टमा कुनै विश्वासी भाइको विश्वास नगर्ने पत्नी छ, र पतिसँग बस्न चाहन्छे भने उसले पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्। 13अनि यदि ख्रीष्टमा कुनै विश्वासी स्त्रीको विश्वास नगर्ने पति छ, र पत्नीसँग बस्न चाहन्छ भने उसले पतिसँग सम्बन्ध-विच्छेद नगरोस्। 14किनकि विश्वास नगर्ने पति पत्नीद्वारा पवित्र तुल्याइएको हुन्छ र विश्वास नगर्ने पत्नी उसको विश्वासी पतिद्वारा पवित्र तुल्याइएकी हुन्छे। नत्रता तिनीहरूका सन्तान अशुद्ध हुनेथिए; तर अब तिनीहरू पवित्र छन्।
15तर यदि अविश्वासी पति वा पत्नी अलग रहन चाहन्छन् भने ती अलग रहन सक्छन्। यस्तो परिस्थितिमा विश्वास गर्ने पुरुष वा स्त्री कुनै बन्धनमा रहँदैनन्; परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनुभएको छ। 16हे पत्नी, तिमीलाई के थाहा, सायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
अवस्था परिवर्तन सम्बन्धी
17प्रभुले हरेक व्यक्तिलाई जस्तो अवस्थामा राख्नुभएको छ, तथा जुन रूपमा बोलाउनुभएको छ, त्यही अवस्थामा विश्वासी भएर जिउनुपर्दछ। म यही नियम सबै मण्डलीहरूका लागि राख्दछु। 18कुनै मानिसको बोलावट हुँदा उसको अगिबाटै खतना भइसकेको थियो भने उसले बेखतना हुनुपर्दैन। कुनै मानिसको बोलावट हुँदा खतना नभएको हो भने उसले खतना नगरोस्। 19खतना र बेखतना महत्त्वपूर्ण कुरा होइन, तर परमेश्वरको आज्ञापालन गर्नुचाहिँ महत्त्वपूर्ण कुरा हो। 20हरेक व्यक्ति परमेश्वरले बोलाउनुहुँदा जस्तो अवस्थामा थियो, त्यसै अवस्थामा रहिरहोस्।
21तिमीहरूको बोलावट हुँदा के तिमीहरू सेवक थियौ? यो कुराको चिन्ता नगर; तर तिमीले स्वतन्त्र हुने मौका पायौ भने त्यसको सदुपयोग गर। 22किनकि जब प्रभुमा बोलावट पाउँदा कोही व्यक्ति सेवक थियो भने अब ऊ प्रभुको स्वतन्त्र पारिएको मानिस हो; त्यसरी नै जब कोही व्यक्ति बोलावट हुँदा स्वतन्त्र मानिस थियो भने अब ऊ ख्रीष्टको सेवक हो। 23तिमीहरू मोल तिरेर किनिएका हौ; तिमीहरू मानिसहरूका सेवक नबन। 24दाजुभाइ-दिदीबहिनीहरू हो, प्रत्येक व्यक्ति परमेश्वरप्रति जिम्मेवार भई, जसले जुन अवस्थामा परमेश्वरबाट बोलावट पाएको छ, त्यही अवस्थामा रहिरहोस्।
अविवाहितहरूका बारेमा
25अब कन्याहरूको विषयमा: मैले प्रभुबाट केही आज्ञा त पाएको छैन; तर प्रभुको कृपा पाएर विश्वासयोग्य भएको कारणले म यो सल्लाह दिन्छु। 26किनभने वर्तमान समयको सङ्कष्टको कारणले गर्दा मेरो विचारमा जुन व्यक्ति जस्तो छ, त्यस्तै अवस्थामा रहनु असल हुन्छ। 27यदि तिमी विवाहित छौ भने आफ्नी पत्नीलाई नत्याग। यदि तिमी अविवाहित छौ भने विवाह गर्न नखोज। 28तर यदि तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गरेका हुँदैनौ; अनि एउटी कन्याले विवाह गरी भने तापनि त्यसले पाप गरेकी हुँदिन। तर जसले विवाह गर्छन्, तिनीहरूले यस जीवनमा धेरै दुःखको सामना गर्नुपर्नेछ, र म तिमीहरूलाई यसबाट जोगाउन चाहन्छु।
29दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो भनाइको तात्पर्य यो हो, समय थोरै छ। अब उसो पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर जिऊन्; 30शोक गर्नेहरू, शोक नगर्नेहरूजस्ता होऊन्; आनन्दित हुनेहरू, आनन्दित नहुनेहरूजस्ता होऊन्; किन्नेहरू पनि आफूसित केही थोक नभएकाहरूजस्ता होऊन्; 31संसारका कुराहरू प्रयोग गर्नेहरू, तिनमा रुचि नलिनेहरूजस्ता होऊन्। किनकि यो संसारको वर्तमान रूप बितिरहेको छ।
32म यही चाहन्छु, तिमीहरू निस्फिक्री होओ। अविवाहित मानिसले प्रभुलाई कसरी प्रसन्न पारूँ भनी प्रभुकै बारेमा फिक्री राख्दछ। 33तर विवाहित मानिसले आफ्नी पत्नीलाई कसरी प्रसन्न राखूँ भनी संसारकै बारेमा रुचि राख्दछ। 34अनि उसका रुचिहरू विभाजित हुन्छन्। अविवाहित स्त्री अथवा कन्याले परमेश्वरको कामबारे रुचि राख्छे: उसको उद्देश्य शरीर र आत्मा दुवैबाट प्रभुमा पवित्र रहने हुन्छ। तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न राखूँ भनी संसारकै कुराहरूको रुचि राख्छे। 35यो तिमीहरूकै भलाइको लागि भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लाउनलाई होइन; ताकि तिमीहरू प्रभुको पूर्ण भक्तिमा जीवन बिताउन सक।
36यदि कसैले आफूले मगनी गरेको कन्यासँग अनुचित व्यवहार गरेझैँ लाग्छ भने, र त्यस कन्याको उमेर पनि ढल्कँदैगएको छ भने, र उसलाई विवाह गर्नुपर्छ झैँ लाग्छ भने उसले आफूले चाहेझैँ विवाह गरोस्; यसमा उसले कुनै पाप गरेको हुँदैन; तिनीहरूले विवाह गर्नुपर्छ। 37तर जुन मानिसले आफ्नो मनमा यो विषय समाधान गरिसकेको छ, जो कुनै करकापमा परेको छैन; तर आफ्नो इच्छालाई वशमा राख्न सक्छ, र जसले कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ भने यस्तो मानिसले पनि असल गर्दछ। 38यसकारण जसले त्यस कन्यालाई विवाह गर्छ, उसले सही गर्छ; तर जसले उसलाई विवाह गर्दैन, उसले अझ असल गर्छ।
39एउटी स्त्री आफ्नो पति बाँचुन्जेल उसको अधीनमा हुन्छे। तर यदि पति मर्यो भने उसले आफूले चाहेको व्यक्तिसँग विवाह गर्न सक्छे; तर त्यो मानिस प्रभुमा विश्वास गर्ने हुनुपर्छ। 40मेरो विचारमा यदि ऊजस्तो छे, त्यस्तै अवस्थामा रही भने झन् सुखी हुन्छे; अनि मलाई लाग्छ, तिमीहरूलाई यो सल्लाह दिँदा परमेश्वरको आत्माले मलाई अगुवाइ गर्दै हुनुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
1 कोरिन्थी 7: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.