1 कोरिन्थी 3:5-18
1 कोरिन्थी 3:5-18 NCV
त्यसो हो भने अपोल्लोस को हुन्? अनि पावल को हो? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचारमा विश्वास गर्यौ; अनि प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्यौँ। मैले बिउ रोपेँ, अपोल्लोसले पानी लगाए, तर परमेश्वरले नै त्यसलाई बढाउनुभएको हो। यसकारण न रोप्ने केही हो, न त पानी हाल्ने केही हो; तर परमेश्वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ। रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ। किनकि हामी परमेश्वरको सेवामा सहकर्मी हौँ; तिमीहरू परमेश्वरको खेतबारी र उहाँको भवन हौ। परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एक जना सिपालु मिस्त्रीलेझैँ एउटा जग बसालेको छु; अनि अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउँदै जानुपर्छ। तर जुन जग बसालिएको छ; त्यो जग स्वयम् येशू ख्रीष्ट हुनुहुन्छ; त्यसबाहेक कसैले अर्को जग बसाल्न सक्दैन। यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने, हरेकको काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले हरेकका कामलाई ज्योतिमा ल्याउनेछ; अनि आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ। यदि त्यसले बनाएको काम रहिरह्यो भने त्यस कामदारले इनाम पाउनेछ। यदि त्यो काम जलेर नष्ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैँ आफूचाहिँ बाँच्नेछ। के तिमीहरू आफैँ परमेश्वरको मन्दिर हौ र परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्ने कुरा जान्दैनौ? यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्दछ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ; किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिरचाहिँ तिमीहरू नै हौ। तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्नुपर्छ।

