1 इतिहास 21:1-17

1 इतिहास 21:1-17 NCV

शैतान इस्राएलको विरुद्धमा उठ्यो र दावीदलाई इस्राएलको जनगणना गर्न सुर्‍यायो। यसकारण दावीदले योआब र सैन्यदलका सेनापतिहरूलाई भने, “जाओ, गएर बेर्शेबादेखि दानसम्मै इस्राएलीहरूको गन्ती गर; अनि आएर मलाई बताऊनू; ताकि म तिनीहरूका संख्या कति रहेछन्, म त्यो थाहा पाउन सकूँ।” तर योआबले जवाफ दिए, “याहवेहले उहाँको फौजलाई सय गुणा बढाऊन्। मेरा मालिक महाराजा, के तिनीहरू सबै मेरा मालिककै सेवकहरू होइनन् र? मेरा मालिकले किन यसो गर्न चाहनुहुन्छ? किन हजुरले इस्राएलमाथि दोष ल्याउनुहुन्छ?” तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। यसकारण योआब त्यहाँबाट निस्केर गए; र पूरा इस्राएलभरि घुमे। त्यसपछि यरूशलेममा फर्केर आए। योआबले दावीदलाई लडाकु मानिसहरूको संख्या बताइदिए: अनि सारा इस्राएलमा तरवार चलाउन सक्ने एघार लाख र यहूदामा चार लाख सत्तरी हजार मानिसहरू थिए। तर योआबले लेवी र बेन्यामीनलाई त्यस गणनामा सामेल गराएनन्; किनकि तिनलाई राजाको आदेश घृणित लागेको थियो। यो आदेश परमेश्‍वरको दृष्‍टिमा पनि दुष्‍ट काम थियो; यसकारण उहाँले इस्राएललाई दण्ड दिनुभयो। तब दावीदले परमेश्‍वरलाई भने, “मैले यो काम गरेर ठूलो पाप गरेको छु। अब म तपाईंलाई बिन्ती गर्दछु, आफ्नो सेवकको दोष क्षमा गरिदिनुहोस्, किनकि मैले ठूलो मूर्ख काम गरेको छु।” याहवेहले दावीदका भविष्यवक्ता गादलाई भन्‍नुभयो, “जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्‍न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ” यसकारण गाद गएर दावीदलाई भने, “याहवेह यसो भन्‍नुहुन्छ, ‘तैँले यीमध्ये एउटा चुन्: तीन वर्षको अनिकाल, अथवा तीन महिनासम्म तेरा शत्रुहरूका तरवारद्वारा विनाश भइरहनु, अथवा तीन दिनसम्म देशमा याहवेहको आफ्नो तरवारद्वारा विपत्ति ल्याइनु, अथवा याहवेहको दूतद्वारा इस्राएलका हरेक ठाउँमा विनाश आइलाग्नु।’ अब मैले आफूलाई पठाउनुहुनेकहाँ के जवाफ दिने, त्यो निर्णय दिनुहोस्।” दावीदले गादलाई भने, “म ठूलो सङ्कष्‍टमा परेको छु। मलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।” यसकारण याहवेहले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र इस्राएलमा सत्तरी हजार मानिसहरू मरे। परमेश्‍वरले यरूशलेमलाई नाश गर्नलाई एक जना दूत पठाउनुभयो। तर त्यस दूतले नष्‍ट गरिरहेको बेला याहवेहले देख्नुभयो, र त्यस विपत्तिको कारण उहाँ दुःखी हुनुभयो; अनि मानिसहरूलाई नाश गरिरहेका दूतलाई भन्‍नुभयो, “भयो, अब आफ्नो हात रोक।” त्यस बेला याहवेहका दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए। दावीदले आफ्ना आँखा मास्तिर उठाउँदा याहवेहका ती दूतले हातमा थुतेको नाङ्गो तरवार यरूशलेममाथि पसारेर स्वर्ग र पृथ्वीको बीचमा उभिरहेका देखे। तब दावीद र प्रधानहरू भाङ्ग्रा लगाएर भुइँतिर घोप्टो परे। दावीदले परमेश्‍वरलाई भने, “के लडाकु मानिसहरूको गन्ती लिनु भनेर आदेश दिने म होइन र? म गोठालोले पाप गरेको हुँ, र मैले नै गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। यिनीहरूले के गरेका छन् र? हे याहवेह मेरा परमेश्‍वर, तपाईंका हातका विपत्ति म र मेरा परिवारमाथि परोस्, तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नपरोस्।”

1 इतिहास 21 पढ्नुहोस्